
जानकी गाउँपालिकाको खैरीफाँटाकी सीता विष्टलाई समाजमा मिलेर काम गरेको, एकअर्कालाई सुखदुःखमा सघाएको खुबै याद छ ।
ज्येष्ठ नागरिक विष्टलाई खेतीपाती गर्ने बेला गाईगोरु अभाव हुँदा खाद्यान्न, गर्जो टार्न रकम सरसापट गरेको सम्झना छ । ‘हामीले खाद्यान्न, रकममात्र नभई आगोसमेत साटासाट गरेर बाल्ने गर्थ्यौं, एउटा घरमा पहिले आगो बालेमा वल्लोपल्लो घरमा त्यहीँ आगो लिएर सल्काउने चलन थियो’, उनी भन्छिन्, ‘अहिलेका समाज र जीवन फेरिएको छ । आजभोलि त समाजमा सहयोग चल्दैन, प्रतिस्पर्धा चलेको देख्छु ।’
अर्की महिला देवु रावल पनि विगतमा घर बनाउँदा, खेतीपाती गर्दा मिलेर काम गर्ने छिमेकी बदलिएका बताउँछिन् । आजभोलि कमाइ भएकाहरूले नभएकालाई हेप्ने चलन बढेकामा चिन्ता व्यक्त गर्छिन् । ‘कमाइ भएकाहरूको जीवन सुखद् छ, विपन्न नागरिकले समाजमा बाँच्न गाह्रो भएको छ’, उनले भनिन्, ‘पहिलाका मानिस दयालु, सहयोगी हुन्थे, आजभोलि जो धनी छ, उसैलाई मात्र सहयोग गर्नेहरू भेटिन्छन् ।’
टीकापुरकी पार्वती गिरीलाई पनि पहिलेकै समाज राम्रो लाग्छ । छिमेकमा मिलेर, बाँडीचुडी खाएको याद आउँछ । “हामी एक घरमा दाल, एक घरमा तरकारी पकाएर छाक टार्थ्यौं”, उनले भनिन्, ‘पाकेको मीठोमसिनो बाँडेर खाने चलन थियो, आजभोलि पल्लो घरमा मासु पाक्छ, वल्लो घरमा तरकारी हुँदैन, यस्तो समाज राम्रो भयो त ?’