नेपाल निजामती कर्मचारी युनियनको २३ औँ स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

नेपाल निजामती कर्मचारी युनियनको २३ औँ स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

  • Kanchan News

  • शुक्रबार, भदौ २०, २०८२

  • 81
    SHARES
नेपाल निजामती कर्मचारी युनियनको २३ औँ स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

२३ औँ स्थापना दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी युनियनले विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्य समिति, जिल्ला कार्य समिति कास्की तथा प्रदेश विभागीय कार्य समितिको संयुक्त आयोजनामा एक कार्यक्रमका बीच पोखरा महानगरपालिका वडा न ९ स्थित नव प्रभात मा. वि. का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापाले शिक्षा नै राष्ट्रको समृद्धिको आधार भएको उल्लेख गर्दै कर्मचारी युनियनले विद्यार्थीको हितमा गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। “राष्ट्रको भविष्य विद्यार्थीमा निहित छ। यस्ता सहयोगी कार्यक्रमले उनीहरूलाई अध्ययनमा थप प्रोत्साहन मिल्नेछ,” मन्त्री थापाले भन्नुभयो। पूर्व वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुरेन्द्र प्रसाद अधिकारीले कर्मचारी युनियन केवल कर्मचारीका हक अधिकारका लागि मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको भन्दै यस कार्यक्रमले विद्यालय–समुदाय सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मरसानीले शिक्षा क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। नव प्रभात मा. वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृती पाण्डेले प्राप्त शैक्षिक सामग्रीले विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने उल्लेख गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। शैक्षिक सामग्री प्राप्त गरेका विद्यार्थीहरूले युनियन र आयोजक संस्थाप्रति आभार प्रकट गर्दै यसले आफ्नो अध्ययनमा थप सहजता ल्याउने प्रतिक्रिया दिएका थिए। कार्यक्रममा केन्द्र, प्रदेश, विभागीय तथा जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य, सल्लाहकार, निवर्तमान पदाधिकारी, केन्द्रीय र प्रदेश महाधिवेशन प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बेद प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केदार सापकोटाले गर्नुभएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News