जनताको सेवामा वडा अध्यक्ष: पैयूँ गाउँपालिका–५ मा सामाजिक सुरक्षा भत्ता नवीकरण घरमै

जनताको सेवामा वडा अध्यक्ष: पैयूँ गाउँपालिका–५ मा सामाजिक सुरक्षा भत्ता नवीकरण घरमै

  • Kanchan News

  • शुक्रबार, साउन ३१, २०८२

  • 145
    SHARES
जनताको सेवामा वडा अध्यक्ष: पैयूँ गाउँपालिका–५ मा सामाजिक सुरक्षा भत्ता नवीकरण घरमै

पर्वत

पैयूँ गाउँपालिका वडा नम्बर ५  मा सामाजिक सुरक्षा भत्ता नवीकरणका घर दैलोमा पुगेर गरिएको छ । सामाजिक सुरक्षा भत्ता नवीकरणको कार्यलाई सहज बनाउन पैयूँ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायण भुर्तेल (निर्भिक) स्वयं घर–घर पुगेर सेवा प्रदान गरिरहेका छन्। वृद्ध, एकल महिला, अपांगता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई नवीकरणका लागि वडा कार्यालय सम्म धाउनुपर्ने बाध्यता हटाउँदै वडाले यसपटक “घरदैलो सेवा” सञ्चालन गरेको हो।

वडाध्यक्ष भुर्तेलका अनुसार यो केवल सरकारी दायित्व पूर्ति गर्ने काम मात्र नभई जनताप्रतिको आत्मीय व्यवहार हो। उनले भने, “यो केवल भत्ता नवीकरण मात्र होइन—वृद्ध आमा–बुबाको अनुहारमा मुस्कान ल्याउने हाम्रो सानो प्रयास पनि हो। हामी निरन्तर, अविच्छिन्न सेवामा अडिग छौं।”

भत्ता नवीकरणका क्रममा वडाध्यक्ष स्वयं टोलीसहित बस्ती–बस्ती पुगेका छन्। अशक्त र हिँडडुल गर्न नसक्ने तथा सबै जेष्ठ नागरिक लाभग्राहीलाई उनीहरूको घरको आँगनमै पुगेर फारम भर्ने, आवश्यक कागजात जाँच गर्ने र नवीकरण प्रक्रिया सम्पन्न गर्ने काम भइरहेको छ। यसले स्थानीय बृद्धबृद्धा तथा विपन्न परिवारलाई ठूलो सहजता दिएको छ।

स्थानीयवासीहरूले वडास्तरीय यो कदमलाई अत्यन्त सराहना गरेका छन्। वडावासी गोविन्द न्याैपानेले भने, “पहिले नवीकरण गर्न वडा कार्यालय धाउनुपर्ने, कतिपयलाई त गाउँबाहिर जानै नसक्ने समस्या हुन्थ्यो। अहिले वडा अध्यक्ष आफैं आउनु भयो, यो जनताको वास्तविक सेवामा समर्पित नेताको चिन्ह हो।”

पैयूँ गाउँपालिकाले प्रत्येक वर्ष सामाजिक सुरक्षा भत्ता अन्तर्गत वृद्ध भत्ता, अपांगता भत्ता, एकल महिला भत्ता लगायतका योजना कार्यान्वयन गर्दै आएको छ। यसपटक वडास्तरबाटै घरदैलो सेवा उपलब्ध गराउनाले लाभग्राहीहरूको समय, श्रम र खर्च बचत भएको छ। यस पहललाई धेरैले “जनमैत्री प्रशासन” को उत्कृष्ट उदाहरणका रूपमा हेरेका छन्। भविष्यमा पनि यस किसिमको सेवा निरन्तरता पाए जनप्रतिनिधि र जनताको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त स्थानियले गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News