सामाजिक–आर्थिक विपन्नता सूचना व्यवस्थापन प्रणाली परियोजना उपयोगी

सामाजिक–आर्थिक विपन्नता सूचना व्यवस्थापन प्रणाली परियोजना उपयोगी

  • Kanchan News

  • सोमवार, साउन १३, २०८२

  • 20
    SHARES
सामाजिक–आर्थिक विपन्नता सूचना व्यवस्थापन प्रणाली परियोजना उपयोगी

पर्वत जिल्लाको महाशिला, पैँयूँ र मोदी गाउँपालिकामा सञ्चालित सामाजिक–आर्थिक विपन्नता सूचना व्यवस्थापन प्रणाली (SEVIMS) परियोजना प्रभावकारी बन्दै गएको छ । यूएनडीपी र इन्प्रेड नेपालको साझेदारीमा सञ्चालनमा आएको सामाजिक–आर्थिक विपन्नता सूचना व्यवस्थापन प्रणाली परियोजना प्रभावकारी रुपमा अगाडी बढेको हो । यूएनडीपी, इन्प्रेड नेपाल र सम्बन्धित स्थानीय तहको सहकार्यमा सञ्चालन भइरहेको यस परियोजनाले स्थानीय विपन्न तथा जोखिममा रहेका समुदायको पहिचान, वर्गीकरण र आवश्यक सेवा तथा सहयोग पु¥याउन महत्वपूर्ण योगदान दिने छ । यी पालिकाहरुमा अहिँले तथ्याङ्क संकलन कार्य चलिरहेको छ । असोज सम्ममा तथ्याङ्क संकलन कार्य सक्ने लक्ष्यका साथ काम भईरहेको छ । तथ्याङ्क संकलनको काम सम्पन्न भए पश्चात घरहरुमा स्टिकर टास्ने काम हुनेछ । स्टिकरमा घर नम्बर सहित क्यूआर हुनेछ । क्यूआर स्क्यान गरेपछि घरको सम्पूर्ण वस्तु स्थिती हेर्न सकिन्छ ।

SEVIMS प्रणालीको मुख्य उद्देश्य समाजका गरिब, जोखिममा परेका, पहुँचविहीन तथा वञ्चित समूहहरूको तथ्यांक संकलन, वर्गीकरण र व्यवस्थापन गर्नु हो । यस प्रणालीमार्फत पालिकाहरूले नीति निर्माण, बजेट विनियोजन तथा लक्षित सेवाहरू प्रदान गर्दा प्रभावकारी निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ । उक्त परियोजनामार्फत डेटा संकलन, विश्लेषण, र डिजिटल प्रविधिमार्फत सूचनाको प्रवाहले नीति निर्माणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । स्थानीय सरकारका लागि लक्षित योजना बनाउन र सेवामा पहुँच विस्तार गर्न परियोजना उपयोगी देखिएको छ । स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा कर्मचारीहरूबाट सकारात्मक प्रतिक्रिया आउन थालेपछि परियोजनाको प्रभावकारितामा थप विश्वास बढेको छ ।

सम्पूर्ण घरपरिवारको विस्तृत सामाजिक–आर्थिक प्रोफाइल तयार गर्नु, महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्धसमूहको पहिचान, उनीहरूलाई लक्षित सहायता र सेवाको पहुँच सहज, आकस्मिक विपद् वा महामारीका बेलामा राहत वितरणमा सहजता, स्थानीय नीति निर्माण र बजेट निर्माणमा वैज्ञानिक आधार तयार लगायतका उपलब्धिहरु हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News