निजामती सेवा विधेयक आज संसदीय समितिबाट पास गर्ने तयारी

निजामती सेवा विधेयक आज संसदीय समितिबाट पास गर्ने तयारी

  • Kanchan News

  • बुधबार, बैशाख १०, २०८२

  • 39
    SHARES
निजामती सेवा विधेयक आज संसदीय समितिबाट पास गर्ने तयारी

संघीय निजामती सेवा विधेयक आज संसदीय समितिबाट पास गर्ने तयारी छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकबाट विधेयक पास गर्ने तयारी गरिएको हो ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुका अनुसार विधेयकमा करिब सहमति जुटेको छ ।

उनका अनुसार ट्रेड युनियनको विषयमा रहेको विवाद पनि समाधान भएको छ । हाल रहेकै जस्तो ट्रेड युनियनको अधिकार कर्मचारीले निरन्तर पाउने गरी कानुन बनाउने विषयमा सहमति जुटेको हो ।

प्रदेश सचिव प्रदेश निजामती सेवाकै हुने छ । तर, दश वर्षसम्म संघबाट प्रदेश सचिव खटाउन सक्नेगरी ऐन बनाउने विषयमा सहमति भएको छ ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुने छ । तर, यो पदमा पनि संघले दश वर्षसम्म कर्मचारी खटाउने गरी ऐन बन्ने भएको छ ।

अन्तरतह र अन्तर प्रदेश सरुवाको विषयलाई पनि खुला राखिने भएको छ । कुनैपनि स्थानीय तह वा प्रदेशमा कार्यरत कर्मचारी अर्को स्थानीय तह वा प्रदेशमा सरुवा हुनका लागि सरुवा हुन चाहेको व्यक्ति साथै सरुवा भएर जान जाहेको तह वा प्रदेश सहमत भएको खण्डमा त्यस्तो ठाउँ र पदमा सरुवा हुन सक्ने प्रावधान राखिने भएको छ ।

व्यवहारिक समस्या समाधान गर्नका लागि यस्तो व्यवस्था राखिएको समितिका सदस्यहरू बताउँछन् ।यस्तै, उपसचिवसम्म मात्रै खुला प्रवेश रहने भएको छ । सेवा प्रवेशका लागि अधिकतम उमेर पुरुषको हकमा ३५ र महिलाको हकमा ३९ वर्ष कायम हुनेछ ।

सरकारले अधिकृत तहको पदमा प्रवेश गर्न २१ वर्ष पूरा भएको हुनुपर्ने तर पुरुषको हकमा ३२ वर्ष ननाघेको र महिलाको हकमा ३७ वर्ष पूरा नभएको हुनुपर्ने प्रस्ताव गरेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News