एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा हुँदै छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा २ विदेशीसहित १२ टोलीले भाग लिने छन् ।
यो संस्करणमा विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाउने पक्का भएको छ ।
महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । यसपालि आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ । पुरुषतर्फ गण्डकी र महिलातर्फ आयोजक टोलीमा ३–३ विदेशी खेलाडी समावेश गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विभागीयबाहेक अन्य टोलीले पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्ने भएकाले प्रतियोगिता झनै रोमाञ्चक हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।