सात वर्षमा बन्यो पर्वतको फलेबास-बागलुङको जैमिनी जोड्ने कालीगण्डकीको पुल

सात वर्षमा बन्यो पर्वतको फलेबास-बागलुङको जैमिनी जोड्ने कालीगण्डकीको पुल

  • Kanchan News

  • आइतवार, कार्तिक ११, २०८१

  • 60
    SHARES
सात वर्षमा बन्यो पर्वतको फलेबास-बागलुङको जैमिनी जोड्ने कालीगण्डकीको पुल

लामो प्रतीक्षापछि यहाँको रणनीतिक सडक जोड्ने पुल बनेको छ । पोखरादेखि पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीदेखि गलकोट जोड्ने रणनीतिक सडकको कालीगण्डकी पुल तयार भएको हो ।कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने लिंक रोड तथा पोखरादेखि गलकोट जाने वैकल्पिक मार्गका रूपमा यो सडक झन्डै ५ वर्षअघि नै सूचीकृत भएको हो ।

सोही सडकमा बन्दै गरेको पुल भने सात वर्षपछि सम्पन्न भएको हो । निर्धारित समयमा ठेकेदार कम्पनीले काम गरेको भए ०७६ असार मसान्तमा सकिनुपर्ने पुल बल्ल पूरा भएको हो ।

रसुवा/श्री गीता/फेवा संयुक्त निर्माण कम्पनीले ०७३ असोज ९ मा सम्झौता गरेको ठेक्काको काम ढिला गरी सकिएको हो । उक्त पुलको पूर्वतर्फको खण्डमा सडकले जोड्न बाँकी छ । पहरो परेकाले झन्डै ५० मिटर सडक नयाँ बनाउनुपर्ने भएको हो । यो सडक बनेपछि मंसिरभित्र यो सडकमा मोटर गुड्न सक्ने ठेकेदार कम्पनीका प्रतिनिधि नीलकुमार राईले बताए ।

‘पुल त सकियो, अब लिंक रोडको काम एक महिनामा सक्छौं,’ राईले भने, ‘भुक्तानीका लागि भने अझै हामीले डिजाइन परिवर्तन (भीओ) को पत्र पाएका छैनौं ।’ नदीमा पायल फाउन्डेसनबिना पुलको पिलर ठड्याउन नसकेपछि सडक विभागले डिजाइन परिवर्तन गरेको थियो । सोहीअनुसारको भुक्तानी स्वीकृति नभएको उनले बताए । डिजाइन परिवर्तन गर्नुपर्दा ठेकेदारले तीन पटकसम्म म्याद थपेका थिए ।जैमनी नगरपालिका–१ जैमिनीधामदेखि पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने १ सय मिटर लामो मोटरेबल पुल सम्पन्न भएपछि स्थानीयमा पनि आशा पलाएको छ । ‘यो पुलले पोखरासम्म जाने नयाँ मार्गको ढोका खोलेको छ,’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘जैमिनीका बासिन्दालाई अब पोखरा जान झन्डै ३० किमिसम्म छोटो पर्छ ।’ मध्यपहाडी लोकमार्गदेखि करिडोर हुँदै पोखरा पुग्ने विकल्प पनि खुलेको उनले बताए ।

प्रसिद्ध जैमिनीधामदेखि पर्वतको फलेवासदेखि कार्कीनेटा, स्याङ्जाको पुतलीखेत हुँदै पोखरा जोड्ने यो वैकल्पिक र छोटो मार्ग हो । काम ढिला हुनुमा पायल फाउन्डेसनका लागि एस्टिमेट परिवर्तन गर्नुपर्दा लामो समय लागेको इन्जिनियर अनिल श्रेष्ठले बताए । ‘पुलको पिलर राख्दा पायल फाउन्डेसन थिएन, पछि बनाएका हौं, त्यसैले ढिला भयो,’ उनले भने, ‘जग खन्दा पनि पानी निस्केर धेरै अप्ठ्यारा परिस्थिति आएका थिए ।’

पायल फाउन्डेसनका लािग उपकरण लैजान सडक नहुँदा एक वर्ष ढिला भएको उनको भनाइ छ । १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रुपैयाँको लागतमा यो पुलको सम्झौता भएको थियो  कान्तिपुरमा खबर छ ।।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News