पर्वतको मोती सामुदायिक पुस्तकालय नेपालकै सर्वोत्कृष्ट

पर्वतको मोती सामुदायिक पुस्तकालय नेपालकै सर्वोत्कृष्ट

  • Kanchan News

  • आइतवार, भदौ १६, २०८१

  • 154
    SHARES
पर्वतको मोती सामुदायिक पुस्तकालय नेपालकै सर्वोत्कृष्ट

पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानिगाउँमा रहेको मोती सामुदायिक पुस्तकालय नेपालकै सर्वोत्कृष्ट पुस्तकालय घोषित भएको छ । विक्रम सम्वत २०१६ मा स्थापित मोती सामुदायिक पुस्तकालय नेपालकै सर्वोत्कृष्ट पुस्तकालयको रुपमा घोषित भई नेपाल सरकारद्वारा पुरस्कृत भएको हो ।
२०७९ सालमा सरकारले गरेको सर्वेक्षण अनुसार नेपालमा ९२८ वटा सामुदायिक र सार्वजनिक पुस्तकालय रहेका छन् । यी सबै पूर्ण रूपमा सञ्चालनमा भने छैनन् । यीमध्ये राम्रोसँग ३२७ वटा पुस्तकालय मात्र सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालयका ६० वटा आंगिक क्याम्पसका साथै अध्ययन अनुसन्धान केन्द्रमा गरी ८० वटा पुस्तकालय छन् । यस्तै नेपालका विभिन्न विश्वविद्यालयमा आबद्धता जनाएका १६ सय हाराहारीका कलेजसँग पुस्तकालय छन् । यस्तै स्कुल तहमा आधारभूत तहको विद्यालयमा रिडिङ कर्नरको अवधारणा आएपछि भने अधिकांश माध्यमिक तहका विद्यालयमा स्कुलको क्षमता अनुसारका पुस्तकालय राखिएका छन् । नेपालमा रहेका सबै पुस्तकालय मध्ये मोती सामुदायिक पुस्तकालय नेपालकै सर्वोत्कृष्ट पुस्तकालय घोषित भएको हो । शनिवार एक कार्यक्रमका बिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मोती सामुदायिक पुस्तकालयलाई सम्मान समेत गर्नुभयो ।
पर्वतमा २०१६ सालमा पुस्तकालय अभियन्ता तथा समाजसेवी भोलानाथ शर्माको नेतृत्वमा मोती पुस्तकालय स्थापना भएको थियो । पुस्तकालय स्थापनासँगै यसले यस क्षेत्रमा शैक्षिक जागरणका साथै सामाजिक सचेतना अभिवृद्धिमा पनि विशिष्ट योगदान गरेको छ । समाजमा पठन संस्कृति हराउँदै गएको बेला यस पुस्तकालयमा दैनिक करिब एक सय जनासम्म पाठक आउने गर्दछन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News