पोखरा ।
नेपालमा अहिले ३० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान गर्दै आएका छन् । सबैले काठमाडौंको त्रिभुवन विमास्थलमै उडान—अवतरण गर्छन् । कात्तिकदेखि ५ महिनासम्म त्रिभुवन विमानस्थल दैनिक १० घन्टा बन्द हुने भएको छ । अहिले दैनिक २१ घन्टा चलिरहेको विमानस्थल १० घन्टा बन्द हुने भएकाले केही प्रतिशत उडान पोखरा र भैरहवा विमानस्थल सार्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई नागरिक उड्डयन प्राधिकरणले पत्राचार गरेको छ ।
प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले अन्तर्राष्ट्रिय र आन्तरिक सबै विमान कम्पनीहरुलाई ४० प्रतिशत उडान त्रिभुवन विमानस्थलबाट पोखरा र भैरहवाका लागि सार्न पत्राचार गरिएको जानकारी दिए । मर्मतको समय ५ महिना भनिएको छ । ‘ विकल्पमा प्राधिकरणले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल देखाउँदै वायुसेवा कम्पनीहरुलाई पत्राचार गरेको छ । नेपालमा ३० अन्तर्राष्ट्रिय सँगै ९ आन्तरिक वायुसेवा र ९ हेलिकोप्टर कम्पनीको उडान रहेको प्रवक्ता भुलले जनाए ।