श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै छ । यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् ।
आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ ।
यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।