पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटाको पन्थेमा गत शनिवार गएको पहिरोमा परी मृत्यु भएका परिवारका सदस्यलाई राष्ट्रिय सभाका पुर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको टोलीले भेट गरेको छ । अविरल बर्षा सँगै घर माथि बाट आएको पहिरोमा परि मृत्यु भएका कार्किनेटाका झलक पौडेल र स्याङजा आँधिखोला गाउँपालिका वडा नं. ३ का तुलसीराम पौडेलको परिवारलाई भेट गरि सान्त्वना दिनुका साथै राहत स्वरुप आर्थीक रकम समेत हस्तान्तरण गरेका थिए ।
टोलीमा तिमिल्सिना सहित संविधान सभा सदस्य तथा पूर्व मन्त्री विकास लम्साल, प्रदेश सांसद भक्त कुवंर, फलेवास नगरपालिका मेयर गंगाधर तिवारी, उप मेयर शोभा क्षेत्री, प्रथम मेयर पदमपाणी शर्मा र प्रथम उपमेयर तथा नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव मञ्जु अधिकारी लगाएत थिए । उक्त टोलीले पहिरोग्रस्त क्षेत्रमा पुगी त्यहाँको वस्तु स्थिती बारे जानकारी लिएको छ ।
पाख्रिवोटका करिब एक दर्जन घर पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोको उच्च जोखिममा रहेका उक्त वस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने देखिन्छ ।
शनिवार अविरल बर्षा सँगै पहिरो आउन शुरु गरेपछि गोठमा रहेका पशुचौपाय जोगाउन जाँदा उनीहरुलाई पहिरोले बगाएको थियो ।