जिल्ला समन्वय समितिको कार्यालयले अनुगमन कार्यलाई तिब्रता दिएको छ । जिल्लामा संचालित योजनाहरुको निरिक्षण तथा अनुगमन गर्दै आएको जिल्ला समन्वय समितिको कार्यालयले यस आर्थीक बर्षमा सम्पन्न भएका तथा निर्माणाधिन योजनाहरुको गुणस्तर तथा कार्यप्रगतिको अवस्था बारे जानकारी समेत लिएको छ । जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा आईतबार सिंचाई कार्यालय बाट कार्यान्वयन भएका योजनाहरुको अनुगमन गरिएको हो ।
जिल्ला समन्वय समिति र पत्रकार सहितको टोलीले ४० लाख लागतको योजना फुस्रेखोला तथा देविल्ला वस्ति नियन्त्रण, ३ करोड ९० लाख लागत स्टिमेट तयार पारि काम थालिएको विजयपुर वेग्नास सिंचाई ड्रेन म्यानेजमेन्ट आयोजना र १६ करोड लागत स्टिमेटको शिलाथान घट्टे खोला संरक्षण तथा काहुँखोला संरक्षण आयोजनाको निरिक्षण तथा अनुगमन गरेको थियो । १६ करोड लागत स्टिमेटको शिलाथान घट्टे खोला संरक्षण तथा काहुँखोला संरक्षण आयोजनाको लागि यो आर्थीक बर्षको लागि ४० लाख बजेट विनियोजन भएको थियो । २५ लाख लागतको छोरेपाटन वस्ती संरक्षण योजनाको पनि अनुगमन गरिएको थियो ।
योजनाहरुको अनुगमनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख पौडेलले आयोजना आसपासका स्थानिय वासिन्दा सँग पनि छलफल गर्नुभएको थियो । उहाँले आयोजनामा देखिएका कठिनाई र निराकारणका बिषयमा पनि छलफल गर्नुभएको थियो । योजना अनुगमनका क्रममा पौडेलले गुणस्तरियतामा ध्यान दिनुपर्नेमा जोड दिदै निरन्तरको अनुगमनलेनै योजनाहरुको काम समयमै सम्पन्न हुनुका साथै गुणस्तरिय पनि हुने बताउनुभयो । आयोजनामा विनियोजन गरिएको रकमको दुरुपयोग हुन नहुने भन्दै उहाँले स्थानियवासी तथा सरोकारवाल निकाय सबैले बिशेष ध्यानदिनुपर्नेमा जोडदिनुभयो ।
अनुगमनको क्रममा सिंचाई डिभिजन कार्यालय कास्कीका प्रमुख रमेशराज शर्मा,जिसस सदस्यहरू सुकमाया नेपाली ,लक्ष्मी दमै ,सितादेबी बिश्वकर्मा ,हर्कबहादुर गुरुङ,राजु अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।