
रासायनिक मल र बढ्दाे विषादीको प्रयोगले खेतबारीको उत्पादन शक्ति ह्रास हुँदै गएको भन्दै पर्वतका ग्रामीण बस्तीमा प्राकृतिक खेती अभियान थालिएको छ । वातावरणलाई कम क्षति हुने र प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गर्ने गरी प्राकृतिक खेती अभियान थालिएको हो ।
प्राकृतिक खेती पद्धतिमा रसायनको प्रयोग नगरी प्राकृतिक सामग्रीको प्रयोग गरिने भएकाले माटोमा कुनै असर नगर्ने विज्ञको सुझाव छ । सामग्री स्थानीय स्तरमा पाइने तथा आवश्यक सेवा बजारबाट खरिद नगरी किसान आफैँले उत्पादन गर्ने हुँदा उत्पादन लागतसमेत घट्ने भएको छ ।
पर्वतमा सञ्चालित समाज कल्याण स्रोत विकास केन्द्रले गुड नेवर्स इनटरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरेको एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत प्राकृतिक खेती अभियान थालिएको परियोजना अधिकृत रमेश रिजालले बताउनुभयो ।
रासायनिक मल र विभिन्न विषादीले माटोमा अम्लियपना बढ्दै गएका बेला जैविक पद्धतिबाट खेती गर्दा सुरुआतमा उत्पादन कम हुने भए पनि कालान्तरमा फाइदा पुग्ने कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शंकर पौडेलले बताउनुभयो । जैविक पद्धतिबाट गरिएको उत्पादनले जमिन र मानिसको स्वास्थ्य दुवैलाई फाइदा पुग्ने उहाँको भनाइ छ ।