राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सत्ता गठवन्धनसँग दुरी राख्ने रणनीतिलाई निरन्तरता दिने भएको छ । बाहिर चर्चा भएजस्तो गण्डकीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने कुनै पनि सम्भावना नरहेको पार्टी स्रोतले बतायो ।
आफ्नो आगामी कार्ययोजना तय गर्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको वैठक दुई दिन देखि बसिरहेको छ । सो वैठकमा उपचुनावको निराशाजनक नतिजादेखि पार्टीले गर्ने भावि आन्दोलनका विषयसम्म छलफल भइरहेको स्रोतले बतायो ।
राप्रपाले राजसंस्था पुनस्र्थापनको माग राख्दै गरेको सडक आन्दोलनको पहिलो चरण पूरा भएको छ । अब दोस्रो चरणमा आन्दोलनको स्वरुप फेर्ने तयारी गरिएको स्रोत बताउँछ ।
राप्रपा वर्तमान सत्ता गठवन्धनलाई कतै पनि सहयोग नगर्ने आफ्नो निर्णयमा अडिक रहने भएको छ । गण्डकीमा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने अभिव्यक्ति दिएका थिए । तर, पार्टी नेतृत्वले उनलाई त्यस्तो निर्णय नलिन सचेत गराइसकेका छन् ।
स्रोतले भन्यो, ‘सत्ता गठवन्धनसँग कुनै पनि हालतमा सहकार्य हुँदैन । गण्डकीमा पनि त्यस्तो सम्भावना शून्य छ ।’
गण्डकीमा खगराज अधिकारीको सरकारविरुद्ध परेको रिटमा सर्वोच्चले उनको पक्षमा निर्णय सुनाएको थियो । ३० जनाले नै बहुमत पुग्ने भनेर सर्वोच्चले ब्याख्या गरेपछि गण्डकी सरकार जोगिएको छ । यद्यपि, विश्वासको मत लिँदा ३१ जनाकै समर्थन चाहिने कांग्रेसले बताइरहेको छ । राप्रपाले समर्थन गरेको खण्डमा खगराज सरकार सुरक्षित रहनेछ । तर, राप्रपा अहिले सत्ता गठवन्धनभन्दा पनि कांग्रेससँग सहकार्यको मुडमा छ ।