आजदेखि विद्यालयहरुमा नयाँ शैक्षिक सत्र शुरु भएको छ । नयाँ शैक्षिक सत्र २०८१ शुरु भएसँगै आजैदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान पनि शुरु भएको छ ।
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’भन्ने नाराका साथ देशभर शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको हो । भर्ना अभियान वैशाख २१ गतेसम्म सञ्चालन हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसारयसपटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने तयारी भइरहेको छ। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरूलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउनका लागि आवहान गरेका छन् ।
प्रधानमन्त्री दाहालले आज एक आवह्रान गर्दै हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी रहेको बताएका छन् ।