एमाले कास्की अधिवेशनको तयारी पुरा

एमाले कास्की अधिवेशनको तयारी पुरा

  • Kanchan News

  • शुक्रबार, चैत्र ९, २०८०

  • 154
    SHARES
एमाले कास्की अधिवेशनको तयारी पुरा

आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन गर्न नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुँदैछ । यही चैत १० र ११ गते हुने अधिवेशनले कास्कीको भुगोल, इलाका कमिटीको प्रतिनिधित्व हुने गरी १ सय २० सदस्यीय कार्यसमिति चयन गर्ने अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।

पार्टीको विधान अनुसार १० प्रतिशत मनोनित र विभिन्न पार्टीबाट समायोजन १० प्रतिशत गरी १ सय ४१ सदस्यीय जिल्ला कमिटी कास्की निर्माण हुने उनले उल्लेख गरे । अधिवेशनमा कास्कीका ७२ वडा, जनसंगठन, सल्लाहकार परिषद्, तीन इलाकाका शाखा कमिटी, आयोजक कमिटीबाट गरी ९ सय ३५ प्रतिनिधिले भाग लिने शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो । अध्यक्ष गुरुङले प्रतिनिधि चयनमा महिला, जनजाति, उत्पीडित, अन्य समुदायको प्रतिनिधित्व गराउँदै सुनिश्चित गर्दै समावेशी सहभागितालाई यथेष्ट रुपमा ध्यान दिएको दाबी गरे । अधिवेशनको उद्घाटन समारोह नयाँबजार स्थित पोखरा प्रर्दशनी केन्द्र हुने छ । अधिवेशनको बन्दसत्र पोखरा सभागृहमा तय गरिएको छ ।

नेकपा (एमाले)का केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनलाई पार्टी महासचिव शंकर पोखरेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । अधिवेशनको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउन जिल्ला कमिटी, महानगर, पालिका, इलाका, वडा कमिटी तथा जनवर्गिय संगठनलाई परिचालन गरिएको छ ।

नेकपा (एमाले)का गतिविधिलाई प्रचार प्रसार गर्न अधिवेशनको सन्दर्भमा अनलाइन (cpnumlkaski.org )। यचन )समेत निर्माण गरिएको छ । पार्टीका स्थायी समितिका सदस्य थममाया थापाले अनलाइनको उद्घाटन गरिन् । उनले राजनीतिक, वैचारिक र संगठात्मक हिसाबले अधिवेशनको महत्व हुने बताइन् । उनले गण्डकी प्रदेशको राजधानी पोखरामा हुने अधिवेशनले सबै जिल्लामा प्रभाव पर्ने भएकोले अधिवेशनलाई व्यवस्थित र मर्यादित बनाउन ध्यान दिने उल्लेख गरिन् ।

‘राजनीतिक अस्थिरताको अन्त्य, सुशासन प्रवद्र्धन, राष्ट्रियताको रक्षा, सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने अभियान एमालेले चलाएको छ,’उनले भनिन्, ‘अधिवेशनले कुशल व्यक्ति चयन गर्न सके अभियानलाई सहि ढंगले सञ्चालन गर्न सक्छ ।’ उनले पार्टीको लक्ष्य र कार्यक्रमलाई पुरा गर्दै मिसन ८४लाई लक्षित गरी पार्टीको संगठनलाई एक ढिक्का बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।

जीवन्त पार्टी भित्र छलफल वहस हुनु स्वभाविक भएको उल्लेख गर्दै उनले पार्टीको छलफललाई देश र जनता प्रति लक्षित गरी सकारात्मक परिणाम दिलाउनमा ध्यान दिने जानकारी दिइन् । समान योगदान भएका व्यक्ति कमिटीमा हुँदा नेतृत्व चयनका लागि तछाड र मछाड हुन सक्ने उनले उल्लेख गरे ।

जिल्ला कमिटी कास्कीका अध्यक्ष गुरुङले विधि र पद्धति अनुसार विचार समूह बनाएर छलफल र सम्बाद चलाए पार्टी वैचारिक रुपमा सुदृढ हुने बताए । उनले आन्तरिक जनवादलाई सुदृढ गरी एकताको अधिवेशन गर्ने दाबी गरे । सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयनको लागि प्रयास गर्ने उल्लेख गर्दै उनले नसकेको खण्डमा अन्तिम विकल्पको रुपमा निर्वाचन गर्ने बताए । प्रतिनिधि छनोटको विषयमा बुझाईमा एकरुपता नभएपछि पार्टी संगठन विभागको परिपत्र अनुसार सचिवालयको बैठक बसी बुझाइमा एक रुपता कायम गरिएको उनले उल्लेख गरे ।

प्रचार प्रसार उपसमितिका संयोजक दर्शन लामाले आम नेपाली जनताले आसा भरोसा गरेको एमाले बनाउनको लागि असल नेतृत्वको आवश्यक पर्ने बताए । उनले सबै विधि र प्रक्रियालाई पुरा गरेर एकताको अधिवेशन गर्ने दाबी गरे ।

प्रचार प्रसार उपसमितिका सदस्य एकराज गिरीले अधिवेशनको बन्दसत्रमा अध्यक्ष गुरुङले राजनीतिक प्रतिवेदन, सचिव बैनबहादुर अधिकारी क्षत्रीले संगठनात्मक प्रतिवेदन र जिल्ला लेखा समितिका अध्यक्ष निर्मल खत्रीले आर्थिक प्रतिवेदन पेश गर्ने जानकारी दिए । ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जनताको वहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने नाराका साथ अधिवेशन हुन लागेको हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News