पोखराको प्याराग्लाइडिङ व्यवसाय प्रबद्र्धन गर्न केही वर्ष अघि तत्कालीन अवस्थामा ७ हजारको प्याराग्लाइडिङ प्याकेज ३ हजारमा उडान भएको थियो भने हाल १२ हजार पुगेको प्याराग्लाइडिङ प्याकेज ३/४ हजारमै उडान हुन थालेको छ ।
खुल्ला प्रतिस्पर्धाका आधारमा जसरी नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान), नेपाल हवाई खेलकुद संस्था (ना) र व्यवसायीहरू बिच केही समय अघि भएको सहमति अनुसार २५ प्रतिशतसम्म छुटमा प्याराग्लाइडिङ उडान गर्ने सहमति जनाए पनि प्याराग्लाइडिङ व्यवसाय अपेक्षाकृत प्रबद्र्धन हुन नसकेको भन्दै केही व्यवसायीहरूले ३ हजारदेखि प्याराग्लाइडिङ गर्न थालेका हुन् ।
पोखराको सहासिक खेल प्याराग्लाइडिङ १५ मिनेट देखि २० मिनेटसम्मको उडान गर्दा १२ हजारको प्याकेज अब ३ हजारमै गर्न थालेसँगै केही व्यवसायीले यसको बिरोध गर्न थालेका छन् भने केहीले खुल्ला प्रतिस्पर्धामा आफ्नो इच्छा अनुसार मूल्य निर्धारण गर्न पाउनु पर्ने राय राख्दै आउनु भएको छ ।
पोखरामा हिजोआज विदेशी भन्दा स्वदेशी पर्यटकहरू बढी भएकाले गर्दा केही प्याराग्लाइडिङ कम्पनीहरूले ह्वात्तै मूल्यमा घटाई न्यूनतम शुल्क १२ हजारको प्याकेज ३ हजारमा उडान गर्न थालेको एक कम्पनीका सञ्चालकले बताउनु भयो । पोखरामा हाल पर्यटकको अफसिजन भएको हुनाले पनि यस खेलमा आकर्षण गर्न केही कम्पनीले विशेष छुट भन्दै २५ देखि ५० प्रतिशतसम्म छुट प्याकेज आफ्नो सामाजिक सञ्जाल मार्फत हालेको पाइन्छ ।
पोखरामा १२ हजारको प्याकेज ह्वात्तै घटाएर ३ हजारमा गर्नुले यसमा सुरक्षामा चुनौती हुन सक्ने नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल भट्टराईले बताउनु भयो । यस अघि प्याराग्लाइडिङ गर्दा प्रति व्यक्तिको १२ हजारसम्म शुल्क लाग्ने गरेको थियो भने अब ३ हजारमा उडान गर्दा त्यसबाट पाइलट सहितका अन्य क्षेत्रमा यसबाट प्रभाव पर्न सक्ने उहाँको भनाई छ । फष्टकम फस्ट सर्भिसका आधारमा अब पाइलटहरूले एकै दिनमा जति पनि उडान गर्न पाइने प्रावधानले गर्दा सुरक्षामा अर्को चुनौती हुन सक्ने नाले जनाएको छ ।
मङ्सिर २९ देखि पुस १५ सम्म करिब दुई साता बन्द भएको प्याराग्लाइडिङ सञ्चालनमा आएसँगै प्याराग्लाइडिङ कम्पनीहरूले विशेष छुट उपलब्ध हुने घोषणा गरेका थिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अघिल्लो बर्ष २०७९ पुष १७ गते देखि पोखरा १८ को सराङकोट तथा तोरीपानीबाट स्थान्तरण भई पोखरा २४ को मान्द्रेढुंगामा सरेको थियो । केही महिना अघि देखि सराङकोटको तोरीपानी बहाकोटबाट पुनः प्याराग्लाइडिङ सुरु भएको प्याराग्लाइडिङ पाइलट शर्मिला शर्माले बताउनु भयो । मान्द्रेढुंगा सहित तोरीपानीबाट समेत प्याराग्लाइडिङ गर्न पाउँदा अब यसको प्रबद्र्धन हुने उहाँको बुझाई छ ।