पोखरा
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने बताउनुभएको छ । मध्यपहाडी लोकमार्गको अभियानको क्रममा पर्वत र कास्कीका विभिन्न स्थानमा आईपुग्नुभएका अध्यक्ष ओलीले अब नेपालमा राजतन्त्र फर्किन नसक्ने ठोकुवा गर्नुभयो । जसरी अब वि.सं. २०६५ साल इतिहासमा फर्किन सक्दैन त्यसैगरी अब राजतन्त्र पनि फर्किन नसक्ने बताउँदै २०६५ सालमै राजतन्त्रको अन्त्य भैसकेको उहाँले बताउनुभयो । पछिल्लो समय राजतन्त्र फर्काउने फण्डाबाजी मात्र भएको बताउदै ओलीले राजतन्त्रको नाममा अराजकता फैलाउन नहुने बताउनुभयो । उहाँले राजतन्त्र फर्काउने भन्दै एक थरी अराजकतावादीहरु चलबलाईरहेको भएता पनि सरकारले टुलुटुलु हेरेर बसिरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले मिसन–०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गर्नुभयो । मंसिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा संकलन गरिएका सबै माग र सुझाव राष्ट्रनिर्माणको खाका र योजना बनाउने गरि आफुहरुले छलफल गर्ने उहाँको भनाई थियो ।