अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड रुपैयाँ आम्दानी गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँचीदाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृतहरिबहादुर मिजारले जानकारी दिए । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको छ । अधिकृत मिजारका अनुसार यस वर्षजिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री भएको छ ।
गत वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो । आर्थिक वर्ष २०७९/८० मा प्रतिकिलोअलैँची कम्तीमा पाँच सय ५० रुपैयाँदेखि सात सयसम्म बिक्री भएको थियो । उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्यवृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन् ।
आव २०७८/७९ मा तीन सय ३५ मेट्रिक टन अलैँची दाना बिक्रीबाट १५ करोड आम्दानी भएको थियो । त्यस्तै, एक दशकअघि १३करोडसम्म अलैँची दाना बिक्रीबाट आम्दानी भएको थियो । आव २०७७/७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८करोड २० लाख रुपैयाँ आम्दानी भएको थियो । उक्त वर्ष नौ सय ५० देखि साढे एक हजार रुपैयाँ बढी मूल्यमा बिक्री गरेका थिए ।
आव २०७६/७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले १२ करोड रुपैयाँ आम्दानी गरेका थिए । त्यस्तै आव२०७५/७६ मा सात सय ५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले पाँच करोड २५ लाख आम्दानी गरेका थिए ।
मर्स्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले यस वर्ष गत वर्षको तुलनामा कम उत्पादन गरी बढी आम्दानी गरेका छन् । दुईसय ७५ किलो अलैँची दाना बिक्रीबाट तीन लाख ७१ हजार दुई सय ५० रुपैयाँ आम्दानी गरेको उनले बताए । उनका अनुसार गत वर्षसाढे तीन क्विन्टल अलैँची दाना बिक्री गरेर करिब दुई लाखमात्र आम्दानी गरेका थिए ।