लुम्बिनीमा चौथो शान्ति शिखर सम्मेलन गर्ने तयारी

लुम्बिनीमा चौथो शान्ति शिखर सम्मेलन गर्ने तयारी

  • Kanchan News

  • मङ्लबार, कार्तिक २८, २०८०

  • 48
    SHARES
लुम्बिनीमा चौथो शान्ति शिखर सम्मेलन गर्ने तयारी

लुम्बिनी प्रदेश सरकारले फागुनमा लुम्बिनीमा चौथो शान्ति शिखर सम्मेलन गर्ने तयारी अघि बढाएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमै सम्मेलनलाई समेटेको छ ।

फागुन २७, २८ र २९ गते बुद्ध जन्मस्थलमा चौथो शान्ति शिखर सम्मेलन गर्ने गरी प्रदेश सरकारले तयारी अघि बढाएको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समेत विशेष चासो दिएको उक्त सम्मेलन बालबालिका, विकास र शान्तिका लागि लौरियटस एण्ड लिडर्स नाममा गर्ने तयारी थालिएको छ ।

लुम्बिनीमा सम्मेलन हुने भएकाले विभिन्न राष्ट्रका २० जना नोबेल शान्ति पुरस्कार विजेतासहित, बालबालिका र शान्तिका क्षेत्रका विज्ञ, सरोकारवाला, सरकारी र गैरसकारी अधिकारीहरु गरी ३०० भन्दा बढी सहभागी हुनेछन् ।

प्रदेश सरकारले सम्मेलन सम्पन्न गर्न कार्यविधि तयार पारेर कार्यक्रमबारे साझेदार निकायहरुसँग छलफल थालेको छ । बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रवर्द्धन गर्न, बुद्ध जन्मस्थल लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन एवं अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलहरुको प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले सम्मेलन गर्न लागिएको लुम्बिनी सरकारले जनाएको छ ।

लुम्बिनीका गृहमन्त्री सन्तोषकुमार पाण्डेयको अध्यक्षतामा लुम्बिनी विकास कोष, प्रदेश सरकारका विभिन्न कार्यालय, पर्यटन व्यवसायीहरुसँग सम्मेलनको तयारीका विषयमा छलफल भएको छ ।

नोबेल शान्ति पुरस्कार प्राप्त व्यक्ति, विभिन्न राष्ट्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति हुने भएकाले सरकारका तर्फबाट प्रारम्भिक तयारी भइरहेको गृहमन्त्री पाण्डेयले बताए । उनले लुम्बिनीमा हुने सम्मेलनले विश्वमा शान्ति, सद्भाव र करुणाको सन्देश जाने र यसले विश्वव्यापी रुपमा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवर्द्धन हुने बताए ।

तीन दिने सम्मेलनको प्रारम्भिक तयारी साउनबाटै सुरु भए पनि अब कार्यक्रमको स्वरुप तयारीमा जुटेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव सुमन घिमिरेले बताए ।

उनका अनुसार मुख्य रुपमा बालबालिकाको हित र अधिकारलाई केन्द्रमा राखेर सम्मेलन हुनेछ । उनले विश्वव्यापी रुपमा शान्तिको सन्देश फैलाउन सम्मेलनले महत्वपूर्ण अवसर प्रदान गर्ने बताए ।

सम्मेलनमा विभिन्न विचारमूलक छलफल हुनेछन् । सम्मेलनलाई प्रभावकारी र सफल बनाउन संघीय सरकारका परराष्ट्रमन्त्रीको संयोजकत्वमा लुम्बिनीका मुख्यमन्त्री सदस्य रहेको १३ सदस्यीय उच्चस्तरीय समन्वय समिति गठन गरिएको छ ।

यस्तै मुख्यमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, प्रदेश अर्थमन्त्रीको संयोजकत्वमा स्रोत समन्वय तथा सहजीकरण समिति, गृहमन्त्रीको अध्यक्षतामा सुरक्षा समिति, पर्यटन विकास परिषद्का कार्यकारी निर्देशकको संयोजकत्वमा अतिथि सत्कार आवास समिति, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुखको संयोजकत्वमा यातायात व्यवस्थापन समिति, गृह मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालयका उपसचिवको संयोजकत्वमा सञ्चार तथा प्रचारप्रसार समिति गठन गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News