विन्ध्यवासिनी मन्दिरमा दैनिक ५५ हजार भेटी सङ्कलन

विन्ध्यवासिनी मन्दिरमा दैनिक ५५ हजार भेटी सङ्कलन

  • Kanchan News

  • बिहिबार, अशोज २५, २०८०

  • 66
    SHARES
विन्ध्यवासिनी मन्दिरमा दैनिक ५५ हजार भेटी सङ्कलन

पोखराको पर्यटकीय एवं धार्मिक तिर्थ स्थल विन्ध्यवासिनी मन्दिरमा हाल दैनिक जसो ५५ हजार रुपैयाँ भेटी सङ्कलन हुने गरेको छ । कोभिड १९ पछि उक्त मन्दिरमा भेटी सङ्कलनमा निकै कमी आउँदा दैनिक जसो करिब ५५ हजार रुपैयाँ सङ्कलन हुने भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताउनुभयो ।

कोभिड–१९ को प्रभाव भन्दा अघिसम्म मन्दिरमा दर्शनार्थीहरुको निकै भिडभाड हुने र दैनिक जसो एक लाख रुपैयाँ भेटिबाट सङ्कलन हुने गरेको उहाँले बताउनु भयो । समितिले हरेक दिन सङ्कलन भएको भेटीको भोलिपल्ट डिजिटल बोर्ड मार्फत सार्वजनिक गर्दै आएको सचिव तीर्थ श्रेष्ठले बताउनु भयो । उक्त मन्दिरमा हाल १४ जना पुजारी सहित ६५ जना कर्मचारीहरू रहेको समितिले जनाएको छ ।

समितिको हाल कर्मचारीहरूलाई तलब व्यवस्थापन गर्नको लागि मात्र करिब १५ लाख र समितिले हालै सञ्चालनमा ल्याएको प्राकृतिक चिकित्सालय सञ्चालनमा हाल मासिक ८ लाख रुपैयाँ व्यवस्थापन गर्दै आएको सचिव श्रेष्ठले जनाउनु भयो । समितिले हाल मासिक २३ लाख खर्च हुने गरेको उहाँले बताउनु भयो । कहिले काँही गोप्य तथा केही आर्थिक सहयोग जुट्ने गरेको बताउँदै सचिव श्रेष्ठले पछिल्लो समयमा अमेरिकाबाट आएको एक परिवारले ३ लाख रुपैयाँ सहयोग गरेको स्मरण गर्नु भयो ।

२०५१ सालमा स्थापित विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीय रुपमा अध्यापन कार्य सञ्चालित भएको छ भने अशक्त र ज्येष्ठ नागरिकको लागि लिफ्ट सुविधा समेत उपलब्ध गराइएको छ । विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत सञ्चालन गरेको समितिmले एम्बुलेन्स सेवा समेत सञ्चालन गर्दै आएको छ । चार्ड पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनी मन्दिरमा २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको हो ।

यसैबिच, यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८० हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा वडा दशैं पर्वको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुने भएको बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

महायज्ञमा प्रखर वक्ता युवा पण्डित हरि शरण पौडेलबाट सङ्गीतमय झाँकी सहित कथा प्रस्तुत हुने भएको छ । महायज्ञ प्रत्येक दिन बिहान ९ बजेबाट मध्यान्ह १२ बजेसम्म र दिउँसो २ बजेबाट अपराह्न ४ बजेसम्म विभिन्न विद्वानहरू विन्ध्यवासिनी पीठाधीस स्वामी निशेषानन्द जी महाराज, दार्शनिक वक्ता डा. भोलानारायण रेग्मी, दार्शनिक वक्ता जगन्नाथ रेग्मी, कृष्णानुरागी आचार्य पशुपति पौडेलहरूबाट कथा प्रवचन हुने भएको छ । यस यज्ञमा कर्ताको रुपमा चन्द्ररमण पराजुली, उपवाचक चिन्तामणि पौडेल, गणेश सृजन जोशी रहनु हुने भएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News