
पोखरा
पोखरामा २ हजार भन्दा बढी स्मार्ट सडक बत्ती जडान गरिएको छ । उज्यालो पोखरा कार्यक्रम अन्तर्गत यहाँका मुख्य मुख्य सडक तथा चोकमा २ हजार भन्दा बढी स्मार्ट बत्ती जडान गरिएको हो । रु. १४ करोड ६५ लाख लागतमा पोखरामा स्मार्ट बत्ती जडान गर्न बत्ती जोड्न टप्सन इनर्जीले ठेक्का पाएको थियो । नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको ५०÷५० प्रतिशत लगानीमा पोखरामा स्मार्ट सडक बत्ती जडान गरिएको हो ।
पोखरामा जडान गरिएका स्मार्ट सडक बत्ती १२० र ९० वाटका रहेको पोखरा महानगरपालिकाले जनाएको छ । जडान भएका मध्ये हाइमास्ट १६ मिटर अग्ला तथा प्रत्येकमा २ सय वाटको ८ वटा बत्ती प्रयोग गरिएको छ । महानगरपालिकाका अनुसार यहाँ जडान गरिएका सबै सडक बत्तीले ६० किलोमिटरभन्दा बढी क्षेत्रफल ओगट्छ । जडान गरिएका बत्ती प्राधिकरणको आइटी सर्भरमा सीधै जोडिने भएकाले कुनै बत्तीले पर्याप्त उज्यालो नदिएमा वा बिग्रिएमा तत्कालै सूचना पाउने प्रविधि जडान गरिएको छ । जस्ले गर्दा बिग्रिएको बत्ती समयमै मर्मत गर्न सकिनेछ ।
२००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्ती जडान पछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।