मौद्रिक नीतिपछि लगातार गिरावट भएको सेयर बजारमा गत सातादेखि देखिएको सुधारले आइतबार पनि निरन्तरता पाएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १४.८१ अंकले वृद्धि भएर २०८०.८६ को विन्दुमा बन्द भएको छ । नेप्से गत बिहीबारको तुलनामा ०.७१ प्रतिशतले वृद्धि भएको हो ।
गत साता सार्वजनिक भएको वाणिज्य बैंकहरूको अपरिस्कृत वित्तीय विवरणपछि लगातार घटेको वाणिज्य बैंकहरुको सेयरमूल्य आइतबार भने बढेको छ । बैंकिङ उपसूचक १.०७ प्रतिशतले वृद्धि हुँदा नेपसे बढ्न सहयोग पुगेको हो । आइतबार उत्पादनमूलक, लघुवित्त र वित्त कम्पनी र अन्य उपसूचकमा गिरावट हुँदा अरु सबै उपसूचमा वृद्धि भएको छ । निर्जीवन बीमा उपसूचक सर्वाधिक २.२१ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.०७ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा सूचीकृत भएर आइतबारदेखि कारोबार सुरु भएको घोराही सिमेन्टको सेयरमूल्य घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा उत्पादनमूलक उपसूचक ०.१८ प्रतिशतले गिरावट भएको छ । यस्तै लघुवित्त उपसूचक ०.३५ प्रतिशत, वित्त कम्पनी उपसूचक ०.०७ प्रतिशत र अन्य उपसूचक ०.०१ प्रतिशतले घटेर बन्द भएको छ ।
आइतबार नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । लगातार करिब २ अर्बको हाराहारीमा कारोबार भइरहेको बजारमा आइतबार कारोबार रकम ३ अर्ब नाघेको छ । ९५ हजार ९६५ वटा कारोबारमा ९७ लाख १८ हजार ७५४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब १ करोड ८५ लाखको कारोबार भएको छ । आइतबार नेपाल इन्स्योरेन्सको संस्थापक सेयर ५८ करोड ६५ लाख ६१ हजारको कारोबार हँदा कारोबार रकम वृद्धि देखिएको हो । कम्पनीका संस्थापक सेयर प्रतिकित्ता ३६६ रुपैयाँमा १९ लाख ४८ हजार ५३८ कित्ता सेयर कारोबार भएको हो ।