
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले क्वीन्टल सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सरकार डराएको आरोप लगाएका छन्।
आइतबार सुन तस्करी प्रकरणमा पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको कुरो उठ्ने वित्तिकै सरकार ढोका बन्द गरेको बसेको आरोप लगाएका हुन्।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सुन प्रकरणमा सरकारको संलग्नता छ/छैन यसबारे छानबिन समितिले बताउने जिकिर गरे। ‘सुन तस्करी प्रकरणमा सरकारको संलग्नता छैन भने छानबिन समितिले पुष्टि गर्छ। सरकार किन पहिले नै तर्सिन्छ ?, ‘उनले भने,’ पहिले नै सरकारले ढोका बन्द गर्छ यसमै आशंका छ।’
उनले एकपछि अर्को आउने प्रकरणले देश गम्भीर अवस्थामा पुगेको बताए। उनले पछिल्लो समय भन्सारबाट सुनबाहेक अन्य सामान नभित्रिएको आरोप लगाए। ‘यो त गोल्ड टच भयो क्या । जे छोयो त्यही सुन। ब्रेक सु छोयो सुन,सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, अर्को ल्यायो सुन, एउटा आइटम सुन,अर्को आइटम सुन,’उनले भने,’कस्तो अचम्म ! भन्सारबाट जे ल्याउँदा पनि सुन।’
ओलीले देश सिध्याउने खेल भइरहेकाले देशको पक्षमा हरेक सचेत नेपाली उभिने र बोल्नुपर्ने अवस्था आएको बताए। अध्यक्ष ओलीले अवैध सामान भित्रिनबाट रोक्न अन्य नाकामा पनि कडाइका साथ चेकचाँज हुनुपर्ने बताए।सरकारको संलग्नाता विना सुन तस्कार नभएको उनले बताए । कुन तहको सरकारको संलग्नाता छ त्यो बरु अनुसन्धान बाट खुल्ला, अनुसन्धान गर्नपर्छ । सरकारले नैतिकताको हिसाबले पनि राजिनामा दिनुपर्ने उनको भनाई छ ।