डिजेल चोरीमा संलग्नता भएका आयल निगम गण्डकी प्रदेश प्रमुख निलम्बित

डिजेल चोरीमा संलग्नता भएका आयल निगम गण्डकी प्रदेश प्रमुख निलम्बित

  • Kanchan News

  • शनिबार, साउन २७, २०८०

  • 49
    SHARES
डिजेल चोरीमा संलग्नता भएका आयल निगम गण्डकी प्रदेश प्रमुख निलम्बित

नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको घटनामा नाम जोडिएका कार्यालय प्रमुख चित्तरञ्जन दासलाई निलम्बन गरिएको छ । घटनाको छानबिन नसकिँदासम्मका लागि निगम गण्डकी प्रदेश कार्यालय प्रमुख दासलाई निलम्बन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

‘घटनाअघि जिल्ला प्रशासन कार्यालयबाट छानबिनका लागि अख्तियारमा पत्र पठाएको अवस्था छ’, उनले भने, ‘छानबिन नसकिँदासम्मका लागि दासलाई निगमले निलम्बन गरेको छ ।’

निगमको पोखरा डिपोबाट लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकरलाई कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशमा बिहीबार नियन्त्रणमा लिइएको थियो ।

१२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा ३ हजार लिटर थप इन्धन चोरी गरी बिक्री गर्न पठाइएको थियो । पक्राउ गरिएको ट्यांकर डाँडाकोनाक चौकीमा राखिएको र जिल्ला प्रशासन, नापतौल कार्यालय र आयल निगमले संयुक्त रुपमा नापजाँच गर्दा ३ हजार लिटर बढी इन्धन भेटिएको थियो ।

घटनापछि कार्यालय प्रमुख दास फरार छन् । उनी आयल निगमको पनि सम्पर्कमा नरहेको आयल निगमका प्रवक्ता ठाकुरले बताए । जिल्ला प्रशासन कार्यालयले घटनाका छानबिका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र काटेको छ ।

निगम गण्डकी प्रदेशका कार्यालय प्रमुख चितरञ्जन दासमाथि डिपोको लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरी इन्धन चोरी गर्ने गरेको आरोप लागेको छ । दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो २ आर्थिक वर्षभन्दा दोब्बर नोक्सानी गराइएको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न (डिप लिने)कार्यालयका अपरेशन इन्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफैं गर्ने गरेका थिए । बिहीबार पक्राउ गरिएको ट्यांकरको चलान, बिल र गेटपास समेत दासले आफैं सही गरेर पठाएका थिए । बिहीबार बरामद गरिएको ३ हजार लिटर डिजलको मूल्य करिब ४ लाख ५९ हजार छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News