पोखरा
बागलुङ कालिका भगवती मन्दिरमा भारत सहितका बाह्य मुलुकमा बनेका धुप लगाएतका पुजाका सामाग्रीहरु लैजान रोक लगाइएको छ । कालिका भगवती मन्दिर व्यवस्थापन समितिले स्वदेशी उत्पादनको प्रयोगलाई बढवा दिन बाह्य मुलुकमा बनेका धुपका सामाग्रीहरुले पुजा अर्जना गर्न रोक लागएको हो । बाहिरी मुलुकमा बनेका पुजा सामाग्रीहरुले मन्दिर परिसरमा फोहोर पनि बढ्न थालेको र नेपालीहरुलाई स्वदेशी उत्पादनको प्रयोग गर्ने बानी बसाल्नको लागि आफुहरुले बाह्य मुलुकमा उत्पादित सिन्के धुप,चुनरी,नरिवल लगाएतका पुजाका सामाग्रीहरु मन्दिरमा प्रयोग गर्न नदिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । “पुजाका सामाग्रीहरु सिन्के धुप,चुनरी,नरिवल लगाएतका बाह्य मुलुक बाट आयातित हुने वस्तुहरुलाई निषेधीत गर्ने निर्णय गरेका छौँ उहाँले भन्नुभयो” स्थानिय स्तरमा उत्पादित वस्तुहरुलाई मात्र मन्दिरमा पुजा अर्चना गर्ने सामाग्रीको रुपमा विक्री वितरण गर्न स्थानिय व्यपारीहरुलाई हामीहरुले अनुरोध गरेका छौँ । मन्दिरमा चढाउने फुलपाती, धजा,धुप देखि प्रसाद सम्मका सामाग्रीहरु नेपालमै उत्पादित हुदाँ हुदै पनि भारत लगाएतका देशमा बनेका सामाग्रीहरुको प्रयोग बढ्न थालेपछि समितिले स्थानिय उत्पादनलाई जोड दिन यस्तो निर्णय गरेको हो । समितिले धुपको रुपमा प्रयोग हुने सिन्के धुप,चुनरी, नरिवल लगाएतलाई निषेध गरेकाले बागलुङ कालिका मन्दिरको दर्शन गर्न आउदाँ स्थानिय रुपमा बनका धागोको धुप लिएर आउन अनुरोध गरेको छ ।
बागलुङ कालिका भगवतिको दर्शन गर्न देशभरीका दर्शनार्थीहरु बागलुङ पुग्ने गर्छन् । सडकमार्ग हुदैँ प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थीहरु बागलुङ कालिका भगवतिको दर्शन गर्न पुग्ने गर्दछन् । बागलुङ कालिका भगवती मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरीनै दर्शनार्थीको चहलपहल हुन्छ । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको स्थानीय बताउँछन् । बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरुको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ ।