पोखरा
नेकपा एमालेका सचिव एवम् पुर्वमन्त्री गोकर्ण विष्टले सुन तस्करीको छानबिनमा आफुहरुले संसदिय समिति नभई उच्चस्तरीय आयोग गठन गर्न माग गरेको बताउनुभएको छ । संसदिय छानविन समितिमा राजनितिक मिसिने तथा अल्पमत र बहुमतले निर्णय गरेर प्रतिवेदन लेख्ने कार्यले सूक्ष्म अनुसन्धान नहुने आवाज बाहिर आईरहेका बेला एमाले सचिव विष्टको यस्तो धारणा आएको हो । बुधबार एमाले प्रचार तथा प्रकाशन विभाग गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव विष्टले आफुहरुले संसदिय समिति बनाउने भन्दा पनि उच्चस्तरीय आयोग गठन गरेर सुन तस्करीको छानबिन गर्न माग गरेको स्पष्ट पार्नुभयो ।
“उच्चस्तरीय आयोग गठन गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,विष्टले भन्नुभयो सुन तस्करीमा सरकारकै मिलेमतो भएको छ, नभए सुन विमान स्थल भन्सार छलेर बाहिर सडक सम्म कसरी पुग्यो, त्यसैले यसको सूक्ष्म अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ” । एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको झण्डै एक सय किलो सुनका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति वा आयोग गठन गर्न माग राखेको तर सरकारले कुनै सुनुवाई नगरेको सचिव विष्टले बताउनुभयो । उच्चस्तरीय आयोग गठनको माग राखेर एमालेले साउन १० गते देखि संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ । सरकारले उच्चस्तरीय आयोग गठन नगर्दा सम्म संसद चल्न नदिने उहाँले बताउनुभयो ।