
पोखरा फुटवेयर बिजनेस सेन्टर’मा पोखरा महानगरपालिकाले लगाएको ताला अन्तत खुलेको छ । साउन ५ गते शुक्रबार सुरु भएको उक्त बिजनेस सेन्टरलाई ४ दिनपछि मंगलबार पोखरा महानगरपालिकाले बन्द गराएको थियो । महानगरमा दर्ता नभएको भन्दै उक्त सटरहरु बन्द गराइएको थियो । २ दिनपछि बिहीबार पुनः सटरहरु खुलेका छन् ।
यस अगाडि विभिन्न बहानामा उक्त व्यवसायको दर्ता गर्न आनाकानी गरेको पोखरा महानगरले अन्ततः दर्ता प्रक्रिया पुरा गरी सटर खोलेर व्यवसाय गर्ने बाटो खुलाएको हो । बिजनेस सेन्टरका व्यवसायीहरुले बुधबार साँझ मेयर धनराज आचार्यसँगसमेत छलफल गरेका थिए । सरकारी सम्पूर्ण निकायमा दर्र्ता भएर व्यवसाय सुरु भएको बिजनेस सेन्टरका एक व्यवसायी सबिन कार्कीले जानकारी दिए । हामी राज्यको नीति नियमलाई सधैं सम्मान गर्छौं र पालना पनि गर्छौं,’ उनले भने, ‘महानगरसँगको मतभेत सकिएको छ । अब महानगरमा समेत दर्ता भएर पुनः व्यवसाय सुरु भएको छ ।’ अब पोखरा क्षेत्रका उपभोक्ताले सस्तो मूल्यमा जुत्ता चप्पल खरिद गर्ने अवसर बिजनेस सेन्टरमा मिल्ने कार्की बताउँछन् ।पोखराको सिर्जनाचोक भन्दा केही तल बिजनेस सेन्टर स्थापना भएको हो । १० कम्पनीले संयुक्त रुपमा बिजनेस सेन्टर स्थापना गरेका हुन् । संयुक्त शोरुममा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका जुत्ता चप्पल बिक्रीका लागि राखिएका छन् ।