‘ड्रागन बोट रेस फेस्टिभल’को लागि चीनबाट चार्टर विमान पोखरा ल्याउने

‘ड्रागन बोट रेस फेस्टिभल’को लागि चीनबाट चार्टर विमान पोखरा ल्याउने

  • Kanchan News

  • सोमवार, जेष्ठ २९, २०८०

  • 68
    SHARES
‘ड्रागन बोट रेस फेस्टिभल’को लागि चीनबाट चार्टर विमान पोखरा ल्याउने

पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’को लागि मित्र राष्ट्र चीनबाट चार्टर विमान पोखरा ल्याउने तयारी गरिएको छ । आउँदो असार महिनाको ८ र ९ गते पोखरामा पहिलो पटक हुने उक्त कार्यक्रममा सहभागी हुन चाइनाबाट २ वटा चार्टर विमानमा करिब ६० जना खेलाडी सहितको ३ सय जना सहभागी हुने भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

गत पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रिय हवाई फ्लाइट नभएको हुँदा यदि चिनिया विमान आउनु नै पोखराको लागि ठुलो उपलब्धि हुने भएको उहाँले बताउनुभयो । पोखरामा कोरोना पनि चिनिया पर्यटक घटेको सन्दर्भमा उक्त कार्यक्रमले नेपाल र पोखरामा चिनिया पर्यटक आगमनमा वृद्धि हुने आफूहरूले विश्वास लिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उक्त कार्यक्रमका लागि दुई वटा चार्टर विमान चीनबाट पोखरा आउने तयारी छ । फेस्टिभलका लागि दुई  करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जनाउनुभयो ।

नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले पोखरामा पहिलो पटक ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुने भएको हो । फेवाताल किनार क्याम्पिङ चोकमा उक्त फेस्टिभल नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुने भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रुपमा रहेका छन् ।

फेस्टिभलमा हुने डुङ्गा दौडका लागि चीनबाट आठ वटा विशेष खालका डुङ्गा पोखरा ल्याएर परीक्षण सुरु गरिएको परिषद्ले जनाएको छ । चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबिच डुङ्गा दौड प्रतियोगिता हुनेछ । दौड पाँच सय र एक हजार मिटरको हुनेछ । सो फेस्टिभलमा चीनबाट विशिष्ट पाहुनाहरूको सहभागिता रहने बताइन्छ । फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसैबिच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले चीनबाट दुई वटा चार्टर विमान पोखरा आउने विषयमा छलफल भई रहेको बताउनुभयो । पोखरामा थ्री वान नाइन १ सय ५० सिटे विमान पोखरा आउने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News