पोखरा
पोखरा महानगरपालिकाको बेरुजु २ अर्ब ७९ करोड ३१ लाख १३ हजार पुगेको छ । महालेखापरिक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷७९ मा पोखरा महानगरपालिकाको बेरुजु २ अर्ब ७९ करोड ३१ लाख १३ हजार पुगेको हो । गत वर्ष पोखरा महानगरको बेरुजु २ अर्ब २९ करोड ७३ लाख ७४ हजार रहेको थियो । त्यो मध्ये २१ करोड ७ लाख ७५ हजार फछर्याैट भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले कानुन विपरीत बजेट रकमान्तर गरेको पनि औल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७९ मा कार्यपालिकाले स्वीकृत वार्षिक बजेटको कुनै शीर्षकबाट पुँजीगत शीर्षकमा २५ प्रतिशत नबढाइ रकमान्तर गर्न सक्ने उल्लेख भएता पनि महानगरपालिकालले आर्थिक वर्ष २०७८÷७९ मा नियम विपरीत रकमान्तर गरेको बताइएको छ । महानगरपालिका वडा नम्बर १, २, १५ ले २५ प्रतिशत भन्दामाथि रकमान्तर गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । ७ योजनामा विनियोजन भएको बजेट २१ योजनामा रकमान्तर गरी खर्च गरेकोमा पनि प्रतिवेदनमा प्रश्न उठाइएको छ । महानगरपालिका अन्तर्गत सञ्चालित बहुप्राविधिक शिक्षालयलाई नियम विपरीत १ करोड १५ लाख रुपैयाँ अनुदान निकासा गरेको प्रतिवेदनमा उल्लेख छ ।
पहुँचका आधारमा विभिन्न व्यक्ति र संस्थालाई मनपरी रकम बाँडेको, लोकसेवालाई छलेर कर्मचारी भर्ती र बढुवा गरेकामा पनि महालेखाले प्रश्न उठाएको छ । पोखरा महानगरमा गत आर्थिक वर्षको भुक्तानी नगरेको, गण्डकी बहुप्राविधिक विद्यालयलाई नियम विपरीत अनुदान, म्याद नाघेको पेस्की बाँकी, नियम विपरीत नगर प्रमुखको उपचार खर्च, दाहोरो पदाधिकारी सुविधा, लोकसेवा आयोगको परामर्श बिना कर्मचारीको स्तरवृद्धि, करार कर्मचारीलाई महँगी भत्ता, अनुगमन गरेको प्रमाण बेगर अनुगमन भत्ता दिएको महालेखाले औैंल्याएको छ । महालेखाले पुष्ट्याइँ बेगरको खर्च, कर्मचारीले ट्याबलेट फिर्ता नगरेको, नियम विपरीत पत्रकार बिमा कार्यक्रम, शीर्षक फरक पारी खर्च, बाटो ढलानमा बढी दर राखिएको, उपभोक्ता समिति मार्फत सामग्री खरिद गरेको, नेपाल सरकारको स्वीकृति बेगर सफ्टवेयर खरिद गरी सञ्चालन गरेकोजस्ता कैफियत पोखरा महानगरपालिकाको लेखा परीक्षणका क्रममा निकालेको हो । कानुन विपरीत लिएको सबै रकम असुल गर्न पर्नि महालेखाले भनेको छ ।