शिव शिखर सहकारीका २५७ पीडितको उजुरी प्रहरीमा, इमेजबिरुद्ध जाहेरी परेन

शिव शिखर सहकारीका २५७ पीडितको उजुरी प्रहरीमा, इमेजबिरुद्ध जाहेरी परेन

  • Kanchan News

  • शनिबार, जेष्ठ २०, २०८०

  • 62
    SHARES
शिव शिखर सहकारीका २५७ पीडितको उजुरी प्रहरीमा, इमेजबिरुद्ध जाहेरी परेन

बचतकर्ताको करोडौं रकम हिनामिना गरेर फरार बागलुङका दुई सहकारीबिरुद्ध प्रहरीले जाहेरी लिन सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले शिब शिखर बहुउद्देश्यीय सहकारी र इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुको जाहेरी लिन सुरु गरेको हो ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरीले जाहेरी दर्ता गरिरहेको भएपनि बागलुङमा इमेज सहकारीबिरुद्ध कुनै जाहेरी परेको छैन् । जाहेरी लिन थालेको तीन दिन बितिसक्दा कोही पीडित कार्यालयमा नआएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

‘पीडितहरु सम्पर्कमा हुनुहुन्छ तर जाहेरी आएको छैन्, अनुसन्धानलाई सघाउनुस् भनेका छौं’ केसीले भने ‘उहाँहरु सल्लाह गर्दैछौं भन्नुभएको छ ।’ सहकारीले हिनामिना गरेको रकमको बिषयमा अनुसन्धान गर्न प्रहरीले जाहेरी मागेको हो । सहकारी रजिष्ट्रारको कार्यालयले यी दुई सहकारीको बिषयमा अनुसन्धान गरेको छ ।

इमेज सहकारीमा बचतकर्ताको झण्डै ३ अर्ब रुपैयाँ र शिव शिखरमा झण्डै ६ अर्ब जोखिममा परेको अनुमान छ । शिव शिखर सहकारीबिरुद्ध भने २ सय ५७ जना पीडितको जाहेरी प्रहरीमा दर्ता भएको छ । सदस्य सेवा केन्द्रको रुपमा बागलुङमा आएको शिव शिखरले बिभिन्न प्रलोभनमा पारेर बचतकर्ताको अरबौं रुपैयाँ हिनामिना गरेको पीडितको आरोप छ । बागलुङ स्थायी रुपमा बसोबास गर्ने कोही पनि यो सहकारीको सञ्चालकमा नरहेकाले बचतकर्ता थप समस्यामा छन् ।

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित तीन जनाको सम्पत्ति भने रोक्का भएको छ । अध्यक्ष नेपालीको नाममा रहेको बागलुङ बजारसहित बुर्तिबाङ बजारमा रहेका घरजग्गा रोक्का गरिएको छ । नेपालीसँगै उनकी श्रीमती छेला नेपाली र संचालक चित्रबहादुर भण्डारीको नाममा रहेको घरजग्गा रोक्का भएको छ ।

ढोरपाटन नगरपालिका नगर प्रमुखसमेत रहेका नेपालीले सहकारीको अरबौं हिनामिना गरेर फरार भएपछि गण्डकी प्रदेश सहकारी विभाग तथा पोखरा महानगरपालिका सहकारी शाखाले भूमि व्यवस्था तथा अभिलेख विभागलाई पत्र लेखेपछि विभागले जिल्ला मालपोत बागलुङ र मालपोत कार्यालय बुर्तिवाङलाई पत्राचार गरेको थियो ।

सहकारीका अध्यक्ष नेपाली, उनकी श्रीमती छेला नेपाली र सहकारीका संचालक भण्डारीको नामका रहेका सबै घरजग्गा रोक्का गरिएको मालपोत कार्यालय बुर्तिवाङका प्रमुख सूर्यप्रसाद शर्माले बताए ।
भूमि व्यवस्था विभागबाट जेठ ९ गते पत्र प्राप्त भएको र ११ गते घरजग्गा रोक्का राखेको हो । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. १, २ र ३ मा रहेका अध्यक्ष नेपालीको २२ कित्ता, श्रीमती छेला नेपालीको नाममा रहेका ७ कित्ता र चित्रबहादुर भण्डारीको नाममा रहेको १२ कित्ता घरजग्गा रोक्का गरिएको छ ।

यस्तै, देव कुमार नेपालीको नाममा रहेको बागलुङ नगरपालिका–२ हल्लनचोकमा रहेको ४ कित्तामा रहेका २ वटा घर रोक्का गरिएको छ ।

केन्द्रको पत्र अनुसार अध्यक्ष नेपालीको नाममा रहेका बागलुङ बजारका घर, जग्गा रोक्का गरिएको मालपोत कार्यलय बागलुङका प्रमुख राजेन्द्र प्रसाद पौडेलले बताए । अध्यक्ष नेपालीले बागलुङ बजार र बुर्तिवाङ बजारमा रहेका धेरैजसो घरजग्गा विभिन्न बैंकमा धितो राखेर कर्जा निकालेकाले रोक्का रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News