प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ४०० केभी क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको भारततर्फको खण्डको शिलान्यास गरिएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको शिलान्यास गरेका हुन् ।
यो ढल्केबर–मुजाफ्फरपुर प्रसारणलाइनपछि भारतसँग बन्न लागेको दोस्रो ४०० केभीको प्रसारणलाइन हो । न्यू बुटवल–गोरखपुर प्रसारणलाइन नेपालमा अमेरिकी अनुदान कार्यक्रम एमसीसीअन्तर्गत बनिरहेको प्रसारणलाइनसँग जोडिनेछ ।
यो प्रसारणलाइनको भारततर्फको खण्डको मात्रै शिलान्यास भएको हो । भारतीय खण्डको निर्माण बुटवल–गोरखपुर क्रस बोर्डर ट्रान्समिसन लिमिटेड (बीजीसीपीटीएल)ले गर्दैछ । बीजीसीपीटीएल नेपाल र भारतबीचको दोस्रो अन्तरदेशीय प्रसारणलाइनको निर्माण गर्न नेपाल विद्युत प्राधिकरण मिलेर स्थापित संयुक्त कम्पनी हो ।
यो कम्पनीले न्यू बुटवल–गोरखपुर ४०० केभी प्रसारणलाइनअन्तर्गत भारततर्फ पर्ने लाइन निर्माण गर्ने छ । यसमा नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडको ५०/५० प्रतिशत सेयर स्वामित्व छ ।