![पर्वतको पैयुँ गाउँपालिकामा ‘पैयुँ आधारभूत अस्पताल’ को सेवा शुभारम्भ](https://kanchannews.com/wp-content/uploads/2023/05/parbat-paiyu.webp)
पर्वतको पैयुँ गाउँपालिकामा ‘पैयुँ आधारभूत अस्पताल’ को सेवा शुभारम्भ भएको छ । पैयुँ –४ हुवासमा स्थित हुवास स्वास्थ्य चौकीको स्तरबृद्धि गरी संचालनमा ल्याएको हो । अस्पतालको गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्यालले सेवा र भवनको शुभारम्भ गर्नुभएको छ ।
‘२४ सै घण्टा आकस्मिक सेवा सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, फार्मेसी सेवा उपलव्ध गराउने गरी अस्पतालको सेवा प्रारम्भ गरिएको छ’–पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले भने,‘ पैयूँ आधारभूत अस्पताललाई अत्याधुनिक र जनमुखी बनाउन हाम्रो ध्यान केन्द्रित हुने छ ।’ अध्यक्ष मल्लले पालिका स्तरीय आधारभूत अस्पतालका लागि आवश्यक पूर्वाधार तथा जनशक्तिको अभाव हुन नदिने बताए । उनले नागरिकको स्वास्थ्यप्रति पालिका गम्भीर रहेको समेत बताए ।
अस्पतालको उद्घाटन गदै गण्डकी प्रदेश सभा सदस्य बस्यालले आधारभूत अस्पताल पालिकाको गौरवको आयोजना भएको र यसको विकासका लागि आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले
अस्पताललाई आधारभूत अस्पतालका रुपमा मात्र सीमित नराखी अन्य क्षेत्रका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा दिने गरी काम गर्न सुझाव दिए ।
अस्पताल नहुँदा यहाँका नागरिक वालिङ्ग, बुटुवाल र पोखरा लगायतका शहरमा जान बाध्य थिए । पालिकामै आधारभूत अस्पतालको सेवा शुभारम्भ भएपछि यहाँका नागरिकले राहातको महशुस गरेका छन् । ‘यस क्षेत्रमा अस्पताल नहुँदा यहाँका नागरिकहरु सानो चोटपटक लाग्दा पनि अन्यन्त्र जान बाध्य थिए, पैयुँ गाउँपालिका–१ टकलाकका वडा अध्यक्ष मिनप्रसाद न्यौपानेले भने,‘ अब पालिकाबासीहरूको हितमा विकास निर्माण र स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रभावकारी रुपले अघि बढाईनेछ ।,’
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले स्वास्थ्य चौकीलाई स्तरउन्नती गरेर आधारभूत अस्पताल स्थापना गर्ने सरकारको निर्णय अनुसार आधारभूत अस्पताल निर्माण गरेको बताए । उनले भौतिक पूर्वाधार बनिनसकेको अवस्थामा मौजुद पूर्वाधार र मौजुद जनशक्ति र अन्य जनशक्ति पालिकाको तर्फबाट व्यहोर्ने गरी यहाँका जनताको आवश्यकता, चाहाना र स्वास्थ्य सेवालाई मध्येनजर गरेर सेवा शुभारम्भ गरेको गरेको उनको भनाई छ ।