गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा

गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा

  • Kanchan News

  • शनिबार, जेष्ठ १३, २०८०

  • 91
    SHARES
गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा

 

गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त भएको छ । बालमैत्री स्थानीय शासनले तोकेका सबै सूचक पुरा गरेर आवधिक योजना बनाएपछि शनिबार गलकोटले बालमैत्री नगर घोषणा गर्न लागेको हो । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले घोषणाको औपचारिकता शनिबार दिनेछिन् ।

तीन बर्षदेखिको अथक प्रयासबाट नगरपालिकाले यो उपलब्धी पाउन लागेको हो । यो उपलब्धीलाई नगरप्रमुख भरत शर्मा गैरेले आफ्नो कार्यकालको महत्वपूर्ण कामको रुपमा चिनाएका छन् । ‘यो मेरो नेतृत्वको नगरपालिकाले गरेको अघिल्लो कार्यकालदेखि अहिलेसम्मकै महत्वपूर्ण काम हो’ गैरेले भने ‘यो अभियानमा साथ दिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय संघसंस्था, आम नागरिकको मेहनतबाट एउटा परिणाम दिएका छौं ।’ उनले यो अभियानलाई जारी राख्न धेरै काम गर्नुपर्ने औल्याए ।

खानेपानी योजना निर्माण, धारा बनाउँदा बालबालिकामैत्री बनाउने र पानीको शुद्धिकरण बालमैत्री अभियानका सूचक पुरा गरिएको हो । त्यस्तै भवन निर्माण संहिता पालना गर्ने, भवन बनाउने क्रममा बालमैत्री संरचना बनाउने र बजेट नीति तथा कार्यक्रममा बालमैत्री स्थानीय शासनका आधार सम्बोधन गर्ने काम भएको गैरेले जानकारी दिए ।

निकृष्ठ बाल श्रममा लाग्नबाट बालबालिकालाई बचाउनका लागि टोल टोलमा अभिमूखिकरण गरिएको सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले बताए । बालमैत्री बनाउन नगरपालिकाले तनि बर्षमा २ करोड बढी लगानी गरेको हो । ‘हामीले शैक्षिक, स्वास्थ्य र समुदाय तहमा पुरा गर्ने सबै सूचक पुरा गरेका छौं’ भण्डारीले भने, ‘केही स्थानमा देखिएको बालबिबाहको समस्या समाधान गरिसकेका छौं ।’ अति दुर्गम मानिएको वडा नं. १० को रमुवामा सहरी स्वास्थ्य क्लिनिक र उक्त क्लिनिकमा बर्थिङ सेन्टरसमेत स्थापना भएपछि बालमैत्री अभियानको अन्तिम तयारी भएको उनले जानकारी गराए ।

बालमैत्री नगर घोषणा गर्ने नगरपालिकाले तीन बर्षअघि निर्णय गरेको थियो । त्यसपछि वडा र समुदाय तहसम्म बालमैत्री स्थानीय शासन कार्यान्वयन समिति बनाइएको थियो । घर घरमा बालबालिकालाई गर्ने व्यवहारदेखि बिद्यालय तहमा पढाउने तरिका, स्वास्थ्य र सरसफाइका सबै सूचक पुरा गर्दै नगरभित्र बन्ने सबै संरचनामा बालमैत्री सूचक पुरा गर्ने लक्ष पुरा भएको हो ।

‘हामीले ५ बर्षे रणनीतिक योजना पनि बनाएका छौं’ नगरप्रमुख गैरेले भने, ‘हरेक बालबालिकाले सुरक्षित जन्म हुन पाउने अधिकार पाउनुपर्छ भन्ने मान्यता विकास गर्दै सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना पनि भएका छन् ।’ बर्थिङ सेन्टरमा तालिमप्राप्त प्रसुतीकर्मी छन् । रणनीतिक योजनाका सूचक पुरा भएका हुन् ।

गलकोटको आफ्नै नगर अस्पताल समेत बनेको छ । नगर अस्पतालमा दुइ जना डाक्टरको दरबन्दी स्विकृत गरेर नगरपालिकाले लगानी समेत गरेको हो । ‘चौबिसै घण्टा स्वास्थ्य सेवा दिनेदेखि गर्भवती र प्रसुतीकालागि समयमा उपचार सेवा प्रवाह भैसकेको छ’ अस्पतालका प्रमुख डा. राजेश पौडेलले भने, ‘नगरमा जन्मने शिशुले सुरक्षित अबसर पाउनेछन् ।’ जन्मेपछि शिशुले पाउने सेवा र बिद्यालय तहको पढाइ निशुल्क तथा सबैखाले खोप पनि निशुल्क पाउने व्यवस्था हुने उनले बताए ।

पूर्ण साक्षर वडाहरु घोषणा भैसकेका छन् भने सबै वडामा पूर्ण खोप पाएको तथ्यांक पनि छ । त्यस्तै हरेक समुदायले बालमैत्री सूचक पुरा गरेको भण्डारीले बताए ।

बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासनले तोकेका ५१ मध्ये १२ वटा शिक्षा र १३ वटा सूचक स्वास्थ्य क्षेत्रबाट पुरा गर्नुपर्ने व्यवस्था छ । समुदाय तहले पुरा गर्नुपर्ने सूचकमध्ये बालबिबाह अन्त्य गर्नुपर्नेलाई सचेतनापूर्वक लिन थालिएको उपप्रमुख फमलाल निउरेले बताए । दलीत बस्तीमा सानैमा बिबाह गर्ने चलन रहेकोमा जनचेतनाका कार्यक्रममार्फत हटाइएको शिक्षा शाखाका प्रमुख रुद्र नारायण सापकोटाले जानकारी दिए । वडा नंं ७ का अध्यक्ष राजबहादुर थापाले पनि दलीत समुदायमा बढी समस्या देखिएकोमा अहिले सुधार भएको बताए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News