बाग्लुङको ताराखोलामा श्रम रोजगार बैंक स्थापना,किसानलाई परिचयपत्र

बाग्लुङको ताराखोलामा श्रम रोजगार बैंक स्थापना,किसानलाई परिचयपत्र

  • Kanchan News

  • बिहिबार, जेष्ठ ११, २०८०

  • 57
    SHARES
बाग्लुङको  ताराखोलामा श्रम रोजगार बैंक स्थापना,किसानलाई परिचयपत्र

 

ताराखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा एक ऐन र पाँच कार्यविधि बनाएको छ । गाउँपालिकाले सार्वजनिक नीजि साझेदारी तथा लगानी ऐन २०७९, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धि कार्यविधि–२०७९, नगर प्रहरी संचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९ निर्माण गरेको हो ।

यस्तै, सञ्चितकोषको आन्तरिक लेखापरीक्षण सम्बन्धि कार्यविधि, शहीद, घाइते, अपाङ्गता र बेपत्ता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण तथा रोजगार कार्यक्रम संचालन कार्यविधि र सार्वजनिक सुनुवाई सम्बन्धि कार्यविधि २०७९ निर्माण गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिए ।

शहीद सप्ताह कार्यक्रमअन्तर्गत २७ जना सहिद परिवारलाइ प्रतिमहिना १ हजारका दरले ८ महिनाको एकमुष्ट ८ हजारका दरले २ लाख १६ हजार जीवन निर्वाह भत्ता वितरण, गाउँपालिकामा बसोबास गरि सरकारी तलबभत्ता खाने जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीहरु अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गर्न शुरुवात गरिएको अभियानलाई पालिकाले एकवर्षे कार्यकालको उपलब्धी भनेको छ ।
कक्षा १ र २ को स्थानीय पाठ्यपुस्तक कक्षामा लागू गरेको पालिकाले कक्षा ३ को स्थानीय पाठ्यपुस्तक छपाई कार्य भईरहेको जनाएको छ । स्वास्थ्यतर्फ अमरभूमि र ताराखोला स्वास्थ्यचौकीमा प्रसूति प्रतिक्षा घर, भुस्कात र साँघुबोटमा बर्थिङ सेन्टरको भवन निर्माण गरिएको कामलाई पालिकाले मुख्य उपलब्धीको रुपमा लिएको छ ।

पालिकाले बितेको एक वर्षमा फलफुल दशकअन्तर्गत बिरुवा रोपण कार्यक्रमका लागि स्याउ, ओखर, आल्मोण्ड, किवी लगायतका ६ हजार फलफुलका बिरुवा ४ सय ५० जना कृषकलाई वितरण गरिएको, किसान परिचयपत्र वितरण कार्य अन्तिम चरण रहेको अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले जानकारी दिए ।

पूर्वाधारतर्फ सडक स्तरोन्नति, सांस्कृतिक संग्राहलय निर्माण, घुस्मेली कभर्ड हल निर्माण, भुस्कात खानेपानी आयोजना, ७ विद्यालयमा भवन निर्माण, औद्योगिकग्राममा जग्गा विकास निर्माण प्रक्रियालाई निरन्तरता दिएको, श्रम रोजगार बैंक स्थापनाको लागि ६० जना श्रमिक सूचीकृत भई प्रकृया अघि बढेको र जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको कामलाई गाउँपालिकाले उपलब्धीका रुपमा लिएको छ ।

चालु आर्थिक वर्षमा ७२ प्रतिशत भौतिक प्रगति गरेको पालिकामा ठेक्कामार्फत सञ्चालन भएका पूर्वाधार विकासतर्फ १८ आयोजनामध्ये ६ निर्माण सम्पन्न भएको, ७ निर्माणाधिन र ७ आयोजना ठेक्का प्रक्रियामा छन् । यस्तै, उपभोक्ता समितिमार्फत सञ्चालित ७० योजनामध्ये ३७ सम्पन्न भई रकम भुक्तानी गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News