काठमाडौंका विश्वास अर्याल हराएको भन्दै कास्की प्रहरीमा खोजतलास गरी पाऊँ भन्ने निवेदन प¥यो । काठमाडौं टोखा नगरपालिका ८ का २८ वर्षीय विश्वास अर्याल शुक्रबार पोखरामा सम्पन्न एक विवाहमा समारोहमा सहभागी थिए । पोखरा ९ बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा विवाहको देखिएका विश्वास सोही दिनदेखि सम्पर्कविहीन भए । सँगै पढ्ने साथीले आफ्नो दाइको विवाहमा उनीसहित काठमाडौंका सात जना साथी निम्त्याएकी थिइन् । सात जनामध्ये विश्वास मात्रै पोखरा आए । शुक्रबार विवाह सकिएपश्चातको रिसेप्सन पार्टी थियो । साँझ पार्टीमा सामेल भएका विश्वासले मादक पदार्थ समेत सेवन गरेका थिए ।
विवाह सकिएको दिनकै भोलिपल्ट उनी सम्पर्कविहीन भए । पोखरा साथीको विहेमा जान्छु भनी हिँडेकोमा आइतबारसम्म सम्पर्कमा नआएकाले आफन्तले खोजतलास गरी पाऊँ भनी निवेदन दिए । निवेदन पश्चात कास्की प्रहरीले खोजतलास गर्दै जाँदा शुक्रबार राति विश्वासलाई दुई युवाले लुटेको खुलेको छ । पार्टी प्यालेसदेखि नै उनको पिछा गर्दै पोखरा ३ नदीपुरबाट पोखरा ११ मणिपाल जाने नारायणस्थानमा रहेको पुल (एल्लो व्रिज) मा लुटपाट गरिएको सीसीटिभी फुटेजमा देखिएको छ । ‘खोज्दै जाँदा उनी पोखराको विभिन्न ठाउँमा हिँडेको देखिन्छ । पछि पुनः सोही पार्टी प्यालेस अगाडि आएको देखिन्छ । त्यसपछि नदीपुरतर्फ आएको पनि देखियो,’ आफन्तले भने,‘यहाँ रहेको पुलमा आएपछि उनको मोबाइल लुटेको पनि देखियो ।’
जिल्ला प्रहरी कार्यालयले सोही पुलको मुनी उनी खसेको आशंकामा सोमबार दिनभर खोजतलाससमेत गरेको थियो । नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसको संयुक्त टोलीले सेती नदी खोंचमा खोज्दा उनी भेटिएनन् । लुटपाटपछिको सम्भावित अनिष्टलाई ध्यानमा राखेर सो क्षेत्रमा खोजतलास गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले बताए । शुक्रबार विश्वासको मोबाइल लुट्ने दुईमध्ये एकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार उनको मोबाइल लुट्ने युवा सडकमानव हुन् । यस भन्दाअघि समेत ती व्यक्ति चोरी प्रकरणमा पटक–पटक पक्राउ परेका थिए । लुटपाटमा संलग्न अर्का व्यक्ति भने अझै फरार रहेका छन् ।
पोखरा पार्टी प्यालेसका संचालक चन्द्रविक्रम अधिकारीले सो दिन विश्वासले बढी नै मादक पदार्थ सेवन गरेको जानकारी दिए । उनका अनुसार करिब साढे आठ बजे पार्टी सकिएपछि विश्वास निस्किएका थिए । साढे आठ बजे पछि विश्वासका साथि तथा आफन्त अंकितले उनलाई छाड्न खोज्दा विश्वासले इन्कार गरेका थिए । त्यसपछि अर्को साथीको सहयोगमा उनलाई सिर्जनाचोकमा रहेको आफन्तको घरमा पु¥याउन खोजिएको थियो । तर,घर नचिनेपछि उनी पुनः सोही ठाउँमा फर्केका थिए ।
‘मेरो आफन्तकै पार्टी थियो । विश्वास पनि २८ गते पोखरा आउनुभएको रहेछ । २९ गते पार्टी सात बजेसम्मका लागि थियो । तर, ९ बजेसम्म पाउनुपर्छ भनेपछि सोहीअनुसार पार्टी चलेको थियो । साढे आठ बजेतिर हामीले पार्टी बन्द भयो,’ अधिकारीले भने,त्यहाँ खाएपछि सबै पाहुनाहरु जानुभयो । उहाँ चाहिँ गेटमा हुनुहुन्थ्यो । त्यसपछि मैले छोरालाई केही समस्या भएको हो कि भनेर सोध्न पठाउँदा साथी लिन आउँछ भन्नुभएछ । पछि त उहाँ हराउनुभएछ ।’प्रहरी भने घटना देखेर अचम्ममा परेको छ । नारायणस्थानस्थित उक्त पुलमा अन्तिम पटक विश्वासलाई देखिएपछि त्यहाँबाट कता गए भन्ने यकिन हुन सकेको छैन् । उता प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएका मोबाइल लुटेराले चाहिँ मोबाइलमात्र लुटेको बयान दिएका छन् । प्रहरीले विश्वास हराएको र खोजी भइरहेको जानकारी दिएको छ ।