पार्टी विरुद्ध सामाजिक सञ्जालमा आक्रमण बढ्यो : देउवा

पार्टी विरुद्ध सामाजिक सञ्जालमा आक्रमण बढ्यो : देउवा

  • Kanchan News

  • मङ्लबार, बैशाख १२, २०८०

  • 114
    SHARES
पार्टी विरुद्ध सामाजिक सञ्जालमा आक्रमण बढ्यो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा पार्टी विरुद्ध आक्रमण बढेको बताएका छन् ।

संसदीय दलको बैठकमा उपनिर्वाचनको क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण गरिएको गुनासो राखेको बैठकमा सहभागी एक सांसदले बताए ।

बजेटका प्राथमिकताका विषयमा सांसदहरुको राय लिनका लागि डाकिएको बैठकमा सभापति देउवाले थेग्नै नसक्ने गरी आक्रमण भएको बताएका हुन् ।

सोमबार र मंगलबार दुई दिन सांसदको राय लिनका लागि संसदीय दलको बैठक बोलाइएको थियो ।

बजेटमाथि केन्द्रित छलफलमा उपनिर्वाचनका सन्दर्भमा पनि सांसदहरुले धारणा राखेका थिए । सामाजिक सञ्जालबाट गरिएको प्रहारका कारणले पनि तनहुँ–१ मा जित निकाल्न नसकिएको विश्लेषण बैठकमा गरिएको थियो ।

‘गोविन्द भट्टराई सांसद नभए पनि क्षेत्रमा विकासका कार्यमा सधैं लागिरहनुभएको छ,’ बैठकमा उठेका विषयबारे एक सांसदले भने, ‘६७÷६८ स्थानमा पानी खुवाएको व्यक्तिलाई हराइयो ।’

विकासका कार्यमा लागिरहेको व्यक्ति भए पनि पुराना दलले जित्न नसकिने अवस्था निर्माण भएको चिन्ता बैठकमा गरिएको ती सांसदले सुनाए । नयाँ दलले गरेको प्रचार अभियानका अगाडी कांग्रेस कमजोर भएकाले पनि पराजित हुनुपरेको नेताहरुले सुनाएका थिए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका लागि स्रोत र साधनको अभाव रहेको सांसदहरुलाई सुनाएका थिए । बैठकमा सहभागी अधिकांश सांसदले सांसद विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए ।

‘प्रतिनिधि सभाका सांसदका लागि सांसद विकास कार्यक्रम नहुने हो भने प्रदेशमा पनि हुन नहुने तर्क राख्नुभएको छ,’ बैठकमा सहभागी एक सांसदले भने, ‘प्रदेशका सांसदका लागि विकास कार्यक्रम बजेटमा समावेश हुँदा संघका सांसदलाई पनि व्यवस्था हुनुप¥यो भन्ने माग छ ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News