वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको जानकारी दिए ।यसअघि अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठक ५ वैशाखमा अनिश्चितकालका लागि स्थगित गरेका थिए ।
यो पनि पढ्नुहोस :
सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गरेको आदेशमा भनिएको छ, ‘रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोरहरु आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी उठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’
संविधानका अनुसूचीमा भएका प्रावधान र प्रचलित कानून अनुसार सरसफाई, फोहोर व्यवस्थापनको काम स्थानीय तहको जिम्मेवारीमा रहेको भन्दै सर्वोच्च अदालतले सिंहदरबारको फोहोर संकलन गरी विसर्जन गर्नुपर्ने दायित्व काठमाडौं महानगरपालिकाको हुने भन्दै ध्यानाकर्षण गराएको हो ।
आदेशमा भनिएको छ, ‘फोहरमैला विसर्जन गरिने स्थान वा ल्याण्डफिल्ड साइट अरु स्थानीय तह अन्तर्गतको स्थानमा पर्न जाँदा त्यहाँको बासिन्दा, स्थानीय तह, सरोकारवाला र काठमाडौँ महानगरपालिकासँग समेत आवश्यक समन्वय, उचित सहकार्य र सार्थक सहयोग पुर्याइ स्वच्छ वातावरण कायम गर्नुपर्नेतर्फ नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समेतको गम्भीर ध्यानाकर्षण गराइएको छ ।’
हरेक नेपाली नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने हक हुने भन्दै सर्वोच्च अदालतले फोहोर व्यवस्थापन नभई वातावरण प्रदुषित भएमा सबै आक्रान्त हुनसक्ने र महामारी फैलनसक्ने औल्याएको छ । केही दिनयताको विवरणमा काठमाडौं उपत्यका विश्वकै प्रदुषित शहरमा परेको भन्दै सर्वोच्च अदालतले तत्काल फोहोर व्यवस्थापन गर्नु भनी आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवार, बालुवाटार र शितल निवास क्षेत्रको फोहोर संकलन गर्ने भनी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि फोहोर उठ्न रोकिएको थियो ।
यही विषयलाई जानकारीमा लिदै सर्वोच्च अदालतले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि स्वच्छ र स्वस्थ वातावरण कायम गर्न राज्यका निकायहरु लगायत नागरिकको सामूहिक प्रयास हुनुपर्ने भन्दै काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।
आदेशमा भनिएको छ, ‘सिंहदरबार लगायतका ठाउँहरुको फोहोर नउठाएको र विसर्जन नगरेको क्रियाकलाप एवं गतिविधिले वातावरण दिनानुदिन प्रदुषित भइरहेको र प्रदुषित वातावरणले आम जनमानसलाई प्रत्यक्ष असर परिरहेको देखिँदा कत्ति पनि ढिलाई नगरी उल्लिखित क्षेत्रमा जम्मा हुन पुगेको फोहोर अविलम्ब संकलन गरी उठाइ विसर्जन गर्नुपर्ने देखियो ।’