![कुश्माबजारमा खानेपानीमा लोडसेडिङ](https://kanchannews.com/wp-content/uploads/2023/04/pic-kushma-bazar-1024x683-1.jpg)
पर्वत । गर्मीयामका कारण पानीको आपूर्ति घटेपछि पर्वतको सदरमुकाम कुश्माबजारमा खानेपानीमा लोडसेडिङ सुरु भएको छ । फागुन दोस्रो हप्तादेखि कुश्मामा पानीको आपूर्ति घटेको छ । दैनिक ८ घण्टा वितरण हुने पानीको अहिले घटाएर ३ घण्टामा झारिएको छ । लामो समयसम्म खडेरी परेपछि पानीको मुल सुक्दै गएको हुनाले माग अनुसार पानी दिन नसकिएको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ । फागुन २५ गतेदेखि पानीको आपूर्तिमा ‘लोडसेडिङ’ सुरु भएको संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले बताउनुभयो ।
संस्थामार्फत दैनिक ३० लाख लिटर पानी आपूर्ति हुँदै आएकोमा गर्मी लागेसँगै बढीमा दैनिक ८ लाख लिटर मात्रै पानी वितरण भइरहेको भन्दै पानीको माग धान्न नसकिएको श्रेष्ठले जानकारी दिनुभयो । वर्षा नभएसम्म हालको समस्या समाधान नहुने भएकाले लोडसेडिङ गर्नुपर्ने बाध्यता आएको संस्थाले जनाएको छ । हाल भइरहेको पानीको प्रयोग कुश्मा बजारमा चाहिने पानीको मात्राको करिब ७५ प्रतिशतले कम हो ।
कुश्मामा मोदी गाउँपालिकामा रहेको पाती खोलाबाट प्रतिसेकेन्ड १७ लिटरका दरले पानीको आपूर्ति भइरहेको छ । त्यहाँको योजनाको क्षमता नै त्यति रहेकाले क्षमताअनुसार नै पानी आइरहेको छ तर कुश्मामा पानीको आपूर्ति हुने गरेको प्रमुख मुहान भने कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको क्यादी खोला हो ।
बर्खाको समयमा तर्नै नसकिने बन्ने क्यादी खोलामा हिउँदको समयमा भने पानी भेटाउन नै मुस्किल हुने गरेको छ । यो खोलाबाट प्रतिसेकेन्ड करिब ३५ लिटर पानी आपूर्ति हुने गरेकोमा अहिले घटेर कठिनले १० लिटर पुगेको छ ।
पातीखोला र खुर्कोट बाट पाइप मार्फत आउने पानी घटेको छ भने बोरिङ बाट निकाल्ने पानी पनि आउन छोडेको छ । बोरिङले प्रतिसेकेन्ड पाँच लिटर पानी तान्ने गरेको थियो । अहिले बोरिङको ‘मोटर’ बिग्रिँदा झनै समस्या भएको संस्थाले जनाएको छ । शिवालय कुश्मा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको आपूर्ति लिने घरको सङ्ख्या दुई हजार पाँच सयभन्दा बढी छ ।
रेडियो नेपाल बाट