नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन्।
दुवै पक्षबाट मंगलबार दिनभर बहस भएको थियो। जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला भएको बताएका छन्।
‘पल शाहले यस अदालतबाट सफाइ पाएका छन्। यसमा चित्त नबुझे नेपाल सरकार उच्च अदालत जाने बाटो छ’, भने, ‘यहाँबाट पललाई कुनै पनि सजाय र जरिवाना तोकिएको छैन। फैसलाको पूर्ण पाठ आउन भने समय लाग्छ।’
यो मुद्दा यसअघि पटक पटक पेशी तोकिए पनि स्थगित हुँदै आएको थियो। पलविरुद्ध नाबालिग गायिकालाई बलात्कारको आरोप लागेको थियो।
तर पछि पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेर्दै जाहेरी झुटो भएको बताएकी थिइन्।
पीडितले जाहेरी फेरेर होस्टाइल भए पनि नवलपुर अदालतले पललाई यस्तै मुद्दामा अढाइ वर्ष कैदको फैसला गरेको छ।
जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपायोगको मुद्दामा उनलाई नवलपुरमा सजाय सुनाइएको थियो
नवलपुरले भदौ २१ गते फैसला गरेको थियो। गत फागुन ११ गते शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो।