२०७४ सालमा रामेछापबाट प्रदेश सदस्यमा निर्वाचित भएका शान्तिप्रसाद पौडेल पुन : रामेछाप निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेको उम्मेदवार बनेका छन्। एमाले रामेछापको जिल्ला कमिटी अध्यक्षसमेत भइसकेका पौडेल रामेछापको दिगो विकासको एक आधार स्तम्भ मानिन्छन्। उनी बागमती प्रदेश सरकारमा अष्टलक्ष्मी शाक्य मुख्य मन्त्री हुँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत बने। रामेछापको समृद्धिका लागि एमालेले मास्टर प्लान बनाएको र जिल्ला तथा प्रदेशको दीर्घकालीन मार्गचित्र कोर्ने गरी, यस क्षेत्रको विकासमा आफ्नो सपना पूरा गर्न नपाएपछि पुन : प्रदेशसभामा गएर आफूले सुरु गरेका योजना पूरा गर्ने उनी बताउँछन्। पूर्वमन्त्री एवम् प्रदेश सभाका उम्मेदवार पौडेलसँग जिल्लाको विकास, योजना तथा आगामी निर्वाचनसँग सम्बन्धित रहेर अन्नपूर्ण पोस्ट्का प्रज्वल पौडेलले गरेको कुराकानीको सम्पादित अंश :
रामेछापको प्रदेश सभा निर्वाचन क्षेत्रमा पुन : तपाईको उम्मेदवारी किन ?
रामेछाप जिल्लाको खाका निर्माण गरेर त्यसको मास्टर प्लान बनाएको काम नेकपा एमालेले गरेको हो। त्यसको नेतृत्व गर्ने तत्कालीन अवस्थामा कैलाश ढुङ्गेल सभापति हुनुहुन्थ्यो, त्यसमा सदस्य म पनि थिएँ। पार्टीमा हामी लामो समयदेखि हामी सहयात्रामा छौं। रामेछापको समृद्धिका लागि एमालेले सडकको मास्टर प्लान निर्माण, अहिलेको संरचना निर्माण गर्ने, कृषि, जलविद्युतको मास्टर प्लान हामीले बनाएको हो। अहिले खिम्ती खोलामा पाँच वटा छन्,जसमा ३ वटा सम्पन्न भए। लिखुमा पाँच वटा हाइड्रो पावर छन् ३ वटा सम्पन्न हुने चरणमा छन्।
एमालेले सारेका एजेण्डा कार्यान्वयन गर्न र अगाडि बनाएको योजनालाई मूर्तरुप दिनका लागि एमालेलाई जिताउनुपर्छ, जित्नुपर्छ। हिजो हामी प्रदेश सभामा थियौं, धेरै काम सुरुवात भएको छ, ति काम अधुरा छन्, अधुरा काम पूरा गर्न र समृद्ध रामेछाप निर्माणका लागि एमालेका उम्मेदवारलाई जित्नु आवश्यक छ।
रामेछापका जनताले एमालेलाई किन मत दिने ?
रामेछापलाई समृद्धिमा लानका हामीले जे गरिरहेका छौं त्यो एमालेबाहेक अर्को पार्टीबाट सम्भव छैन। यहाँको शिक्षा, स्वास्थ्य, कृषि, यहाँको पर्यटन, पूर्वाधार विकास गर्न एमालेसँग साइनो छ। एमालेको भिजन छ, एमालेको लगानी छ, जनताको आकर्षण छ। त्यसकारण रामेछापबाट प्रतिनिधि सभामा कैलाश ढुंगेल र प्रदेशमा पनि मैले र मिलनजीले जित्नुपर्छ।
यो तथ्य बोलेको हो, झुटा आरोप लगाएको होइन, हामी विपक्षीका उम्मेदवार पनि मैदानमा देखिरहेका छौं। ठेक्कापट्टाको काम गर्ने, कामको जिम्मा लिने अनि समयमा काम नगर्ने, जिम्मा लिएर समयमा काम नगर्नु चाहिँ भ्रष्टाचार हो कि होइन ? त्यस्ता मान्छेलाई हामी भोट हाल्छौं कि हाल्दैनौं ? त्यस्ता उम्मेदवारले नीति निर्माणको जिम्मा पाउँदा के गर्लान् ? तपाईहरुको कलम चल्नुपर्छ। तथ्य बोल्नु भएन भने कसरी हामी खोजेका जस्ता उम्मेदवार पाउन सक्छौं ? कसरी हामी राजनीतिका सुधार ल्याउन सक्छौं ? यस्तो भयो उस्तो भयो भन्ने अनि सुधार ल्याउने कुरामा पनि कलम नचल्ने ? त्यसो होइन यी विषयमा पनि कलम चल्नुपर्छ। तपाईं उसको राजनीति निष्ठा के हो ? कति वर्षदेखि काम गरिरहेको छ ? जिल्लामा उम्मेदवार के गरेर बसिरहेको छ ? त्यो हेर्नुपर्यो नि त। एमालेबाट नदीको तिरदेखि हिमालको शीरसम्मका समावेशी उम्मेदवारी सारेका छौं। एमाले पछाडि रहेका जनतालाई अगाडि ल्याउँछ।
संसदमा पाँच वर्षमा के गर्नु भयो ?
२०७४ सालमा बागमती प्रदेशसभाको सदस्यमा रामेछाप क्षेत्र नम्बर १ बाट निर्वाचित भएँ। निर्वाचित भएपछि भर्खर निर्माण भएको नयाँ संरचनालाई व्यवस्थापन गर्न केही समय लाग्यो। प्रदेशका विभिन्न संरचनाहरु निर्माणदेखि प्रदेशका विभिन्न कानुन निर्माणमा भूमिका रह्यो, सांसदको पहिलो प्राथमिकता कानुन, नीति निर्माण हो। नीति अनुसार विकास निर्माण हुने हो।
रामेछापको समग्र विकासका लागि जिल्ला भित्रका विभिन्न ठाउँमा नयाँ ट्रयाक खोल्ने, विभिन्न सडकको स्तरोन्नती र कालोपत्रे गर्ने, विभिन्न रणनीतिक सडक निर्माणका लागि पहल गर्ने, पुलहरु निर्माण, विभिन्न खेलकुद मैदान र कभर्डहलहरु निर्माण कार्यको पहल भयो। त्यसैगरी प्रदेश तथा पालिका स्तरीय अस्पताल निर्माण, सामुदायिक विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाको भवन निर्माण, प्रयोगशाला र पुस्तकालयको स्थापना गर्न बजेट विनियोजन गर्न लगाएँ। स्वास्थ्य चौकीमा थप सुविधा, विभिन्न खानेपानी, सिँचाई, मठ, मन्दिर र गुम्बा पनि आफ्नो संसद विकास कोषबाट र अन्य स्रोतबाट बजेट व्यवस्थापन गरी निर्माण भए। जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने र अधिकतम उत्पादन गरी प्रशस्त आम्दानी लिन उद्देश्यका साथ जिल्लाको उत्तरी र दक्षिणी भेगको भौगोलिक वातावरण अनुसारको किवी, आलु, फलफूल नगदे कृषिजन्य उत्पादनलाई प्रवर्द्धनका लागि पहल भयो।
एमालेको सरकार ढालेर बनेको गठबन्धन मुसाहरुको समूह हो। मुसाको मिटिङबाट बिरालोको घाँटीमा घण्टी बाँध्ने गरी अहिले गठबन्धन बनेर आएको छ, तर बिरालोको घाँटीमा घण्टी बाध्ने चाहिँ कसले झुण्डाउने भन्दा त्यो घण्टी झुण्डाउने मुसो चाहिँ कोही देखा पर्ने छैनन्।
छोटो समय बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुँदा यस क्षेत्रको दीगो विकासका लागि रणनीतिक योजनाहरु निर्माणको थालनी गरेको थिएँ। मन्त्री बनेर आफूले थालनी गरेँ तर पूरा हुन पाएनन्। रामेछाप जिल्ला जुन देशकै उदाहरणीय र पर्यटकिय केन्द्र बनाउने, हाइड्रो हब बनाउने लक्ष्य छ।
अघिल्लो कार्यकालमा १ नम्बर क्षेत्रमा विकास गर्न नसकेको आरोप छ नि ?
रामेछाप जिल्लाको क्षेत्र नम्बर २ जति १ नम्बर विकास हुन नसकेको सत्य हो। तर विकास नै भएन भन्ने चाहिँ होइन। अन्य पालिकाको तुलनामा लिखु तामाकोशी अलि पछाडि परेको हो। विकासका लागि स्थानीय सरकार भरपर्दो हुनुपर्दो रहेछ, गलत व्यक्तिको हातमा नेतृत्व गयो भने आएको बजेट पनि काम हुन सक्दो रहेनछ।
बागमती प्रदेश सरकार हामीले पाँच वर्ष नै पूरा कार्यकाल सञ्चालन गर्न पाएनौं, पहिलो चरणमा परेका बजेट तथा योजना कार्यान्वयन भएकाले १ भन्दा २ मा विकास देखिएको हो। १ नम्बरमा पनि ठूला बजेट विनियोजन तथा योजना कार्यान्वयन हुने क्रममा नै थियो। म मन्त्री हुँदा पनि थप बजेट ल्याउनका लागि योजनाहरु अर्थ मन्त्रालयमा पेश गरेको थिएँ तर २ महिना पनि नपुग्दै सरकार ढल्न पुग्यो।
हलेदे-धोबी-ढाँडे सडकमा समस्या भएको गुनासो छ। हामीले यो सडक पीच गर्न तीन वटा योजना बनायौं। एउटा एडीबीबाट हाल्यौं त्यसमा पनि स्थानीय तह, मुआब्जा वितरणमा समस्या आयो। एउटा समूह कसरी बिगार्ने भनेर लाग्दो रहेछ सडक बनाउनेभन्दा ठेक्का मिल्छ मिल्दैन, लाभ हुन्छ कि हुँदैन, जग्गाको पैसा धेरै आउँछ किन आउँदैन भनेर लागेर समस्या भयो। सेलेघाट-साँघुटार सडक र रामेछापमा मुआब्जा नदिएकाले सजिलो भयो, काम अगाडि बढ्यो। अर्को योजना केन्द्रले ७५ प्रतिशत, प्रदेशले १५ प्रतिशत र स्थानीयले १० प्रतिशत हाल्ने गरी योजना बनायौं तर स्थानीय सरकार मुद्दा मामिलामा परेकाले वास्ता गरेन। र त्यो अगाडि बढेन अन्य ठाउँमा भयो। अर्को योजना म मन्त्री भएपछि मुआब्जाको हुँदै जान्छ पेलेरै जानुपर्छ भनेर जिल्लाबाट डीपीआर अगाडि बढाएर भौतिक पूर्वाधार मन्त्रालयबाट ४२ करोड रुपैयाँ बिनियोजन गरेर धोबीसम्म १८ किलोमिटर रहेछ योजना अगाडि बढाइयो ४९ दिनमात्र भएको थियो सरकारमा पुगेको अर्थमन्त्रालयमा फाइल पुगेको थियो, प्रक्रियामा थियो सरकारबाट हट्न पुगेँ, पूरा हुन सकेन। गठबन्धनको सरकार बनेपछि गठबन्धनका नेताले पनि त्यसलाई प्राथमिकता दिएनन्। तथापी केहि कमि कमजोरी सबैबाट भएको छ, आगामी दिनमा लिखुलाई पहिलो र १ नम्बर क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउँछौं। यो निर्वाचनपश्चात सापोको नापो हुने गरी विकास गर्ने छौं, अहिले जनताको दुखेको मनमा खुसियाली ल्याउँछौं। विकासमा सबैको साझेदारी चाहिन्छ।
सत्ता गठबन्धन र तपाईंहरुमा के फरक छ ?
नेकपा एमालेको ५१ सालमा सरकार बन्यो, त्यो सरकारले एउटा विकासको मोडल नेपाली जनतामाझ पस्कने काम गरेको छ। गाउँमा पैसा पठाउने कुरा, सामाजिक सुरक्षालाई तल्लो तहमा पुर्याउने कुरा अहिले वृद्धि हुँदै गएको छ। अहिले कसैले काट्न सकेको छैन। त्यो बेलामा मनमोहन अधिकारीको सरकारको भिजनबाट अहिलेसम्म देश अगाडि बढिरहेको छ।
जब हामी ७४ सालको एमाले नेतृत्वको सरकारले बन्यो तब रेलको भिजन ल्यायो, अहिले जनकपुरमा रेल चलिसकेको छ, अन्य स्थानमा पनि डीपीआरको प्रक्रियामा छ। चीनसँग पारबाहन सम्झौता भयो, भारत-नेपाल पेट्रोलियम पाइपलाइन निर्माण भयो, धरहरा निर्माण, रानीपोखरीलगायत सांस्कृतिक सम्पदा, विद्यालय, भवन पुनर्निर्माण लगायतको काम हेर्यो भने यो पनि एउटा स्वर्ण काल हो भनेर भन्न सकिन्छ।
नेपालको राष्ट्रिय सुरक्षा र नेपालको रक्षा एमालेबाहेक अरुले गर्न गर्दैन।
एमालेको सरकार ढालेर बनेको गठबन्धन मुसाहरुको समूह हो। मुसाको मिटिङबाट बिरालोको घाँटीमा घण्टी बाँध्ने गरी अहिले गठबन्धन बनेर आएको छ, तर बिरालोको घाँटीमा घण्टी बाध्ने चाहिँ कसले झुण्डाउने भन्दा त्यो घण्टी झुण्डाउने मुसो चाहिँ कोही देखा पर्ने छैनन्। त्यसकारण नेपाली जनताले बुझिसके एमालेको सरकार हुनु र अरु पार्टीको सरकार हुनु फरक छ। हामीले एमालेको तर्फबाट हामीले हाम्रो भावी प्रधानमन्त्री को भन्दा केपी शर्मा ओली। गठबन्धनको प्रधानमन्त्री को भन्दा त्यो भन्न सक्दैनन्, उनीहरु भागबण्डामा छन्, भागबण्डाबाट देश बन्दैन। विकास र समृद्धिको ‘मास्टर प्लान’ एमालेसँग मात्र छ। त्यसकारण हिजो हामीले गरेका काम र भोलीका काम जोडिने भएका हुनाले नेपाली जनताले सूर्य चिन्हमा मतदान गर्छन् भन्नेमा विश्वस्त छौं।
र अन्त्यमा…
नेपालको संविधान रक्षाका लागि, यसका मौलिक हक अधिकार कार्यान्वयनका लागि एमालेले निर्वाचन जित्नुपर्छ। नेपालको राष्ट्रिय सुरक्षा र नेपालको रक्षा एमालेबाहेक अरुले गर्न गर्दैन। त्यसको उदाहरण अहिले बनेको अपवित्र गठबन्धनले पास गरेको एमसीसी सम्झौता र एसपीपी विषयलाई पनि प्रष्ट हुनुहुन्छ। भोलि चीनलाई आक्रमण गर्नका लागि र चीनलाई कमजोर बनाउन अमेरिकालाई नेपालमा सेना बस्ने थलो चाहिएको छ त्यसका पछिपछि गठबन्धन सरकार लागेको छ, यसलाई बचाउन पनि एमालेको सरकार आवश्यक छ। भारतबाट विवाह गरेर आउनसाथ नेपालमा नागरिकता पाउनुपर्ने तर नेपालबाट भारतमा विवाह गरी जानेलाई चाहिँ ७ वर्ष कुर्नुपर्ने प्रावधान हटाउनुपर्ने विभेद हटाउन आवश्यक छ।
सुखी नेपाली, समृद्ध नेपाल पूरा गर्न एमालेबाहेक अरु कुनै शक्तिले अगाडि सार्न सक्दैन। हामी दीगो पूर्वाधार विकास, सामाजिक परिवर्तन, आर्थिक रुपान्तरण, सूशासन, कानुनी राज्यका लागि एमालेको सरकार आवश्यक छ। देशभरबाट पनि सूर्य चिन्हबाट उठेका उम्मेदवारलाई जनताले जिताउनुपर्छ, जित्नुपर्छ।