पोखरा
पोखरा महानगरपालिकाले आयोजना गरेको देशभरका ६ महानगरका मेयर भेला शनिबार बेलुका सम्पन्न भएको छ । मेट्रो मेयर मिट नाम दिइएको उक्त भेलामा मेयर सहित उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको उपस्थिती थियो । दुई दिन चलेको भेलाले ७ बुँदे साझा ‘पोखरा घोषणा पत्र’ जारी गरेको छ ।
घोषणा पत्रमा संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि संघ र प्रदेश सरकारहरुसंगको समन्वय सहयोग र सहकार्यलाई अझ घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण २ सेवा प्रवाहलाई थप सुदृढ बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत विभिन्न विषय क्षेत्रसंग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नया कानूनको निर्माणसँगै महानगरपालिकाहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न अनुरोध गर्ने उल्लेख गरिएको छ ।
महानगरपालिकाहरुका विशिष्ट प्राकृतिक, सांस्कृतिक एवं सामाजिक मौलिक चरित्र एवं समस्या र सम्भावनाहरुलाई सम्मान र संवोधन गर्दै महानगरहरुबीच पारस्परिक सम्पर्क सञ्जाल प्रबर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई “महानगर मञ्च नेपाल माध्यमद्वारा संस्थागत गर्न प्रण गर्ने निर्णय भएको छ । उक्त महानगर मञ्च नेपालद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन नेपाल को आयोजनासंगै त्यसका प्रतिबद्धताहरुको कार्यान्वयनमा सहजीकरण गर्न आयोजक महानगरपालिकाले सम्मेलनको अध्यक्षता ग्रहण गरी सचिवालय समेतको आवश्यक प्रबन्ध गर्न सहमति भएको छ ।
संघीय एवं प्रादेशिक योजना निर्माण प्रक्रिया र पद्धतिसंग समेत सामञ्जस्य हुने गरी महानगरीय नीति तथा योजना तर्जुमा र कार्यान्वयनको गतिलाई तीव्र बनाई व्यवस्थित शहरीकरण, तथ्यमा आधारित नीति निर्माण र उपलब्धिमूलक एवं जवाफदेही कार्यान्वयन प्रणाली सुनिश्चित गर्न हरेक महानगरमा नीति तथा योजना आयोग गठन गरी सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्दै महानगर, यसका पदाधिकारी पक्ष वा विपक्ष में कानूनी रक्षा÷प्रतिरक्षा गर्नुपर्ने विषय जटिल बन्दै गईरहेको परिप्रक्ष्यमा संघीय तथा प्रदेश सरकारले अपनाएको व्यवस्था बमोजिम आवश्यक कानुनी प्रबन्ध गरी सबै महानगरको संगठन संरचनामा उपयुक्त संस्थागत व्यवस्था गर्न सहमति जाहेर गरिएको छ ।
सम्मेलनमा महानगर स्तरबाट प्रवाह हुने सेवा, काम, कारबाही तथा विकास, निर्माणका कार्यलाई थप सबल, सशक्त र गुणस्तरयुक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिनुभयो ।
यो सम्मेलनले सबैको साझा समस्या भनेको फोहोर व्यवस्थापन देखिएको र सबै महानगरको अगाडि फोहोर व्यवस्थापन चुनौतिको विषय बनेको बताइएको छ । यसलाई कसरी प्रभावकारी र समय सान्दर्भिक व्यवस्थापन गर्न सकिन्छ भन्नेमा आफुहरु केन्द्रीत रहेको आचार्यले बताउनुभयो ।
पोखराका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, विराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका उपमेयर इम्तियाज आलम वीरगञ्जका मेयर राजेशमान सिंह लगाएतले सम्मेलनमा भाग लिएका थिए ।