
तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यको छलफलपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकताको संकेत गरेका छन्। सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरु छिट्टै नजिक हुने संकेत गरेका हुन्।
बैठकमा विचार मिल्ने पार्टीहरुसँग एकता गर्नेबारे छलफल भएको र आजै सम्पन्न बाबुराम भट्टराईसँग पनि यसै सन्दर्भमा छलफल भएको उनले बताए।
‘आजको बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्य सहभागी थियौं। यो हाम्रो दोस्रो बैठक हो। यसअघि पनि बसेका थियौं। विचार मिल्नेहरुबीचमा एकताको सम्भावना गर्नेबारे गहन छलफल भएको छ,’ उनले भने।
उनले बैठकमा सत्ता गठबन्धनलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा पजि छलफल भएको बताए। ‘गठबन्धन कायम राखेरै जानेबारे पनि छलफल भयो। गठबन्धनलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे चर्चा भएको छ,’ उनले भने।
उनले आफूहरुको बैठक गठबन्धनविरुद्ध नभएको स्पष्ट पारे। ‘हाम्रो बैठक गठबन्धनविरुद्ध होइन। पार्टी एकीकरण गर्ने सन्दर्भमा भएको हो। अब नजिक हुँदै जान्छौं, हेर्दैजानुहोला,’ उनले भने।