नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताउनुभएको छ ।
शुक्रबार उपसभामुखमा निर्वाचित भएसँगै नयाँ बानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपसभामुख भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताउनुभएको हो ।
उपसभामुख भुसालले संविधानको कार्यान्वयनका लागि आफ्नो भुमिका रहने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिको विविध आयामहरूलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भुमिका खेल्ने बताउनुभयो ।
उपसभामुख भुसालले संवैधानिक परिषद्मा समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । संवैधानिक परिषद्सँग संविधानले राखेको अपेक्षा पूरा गर्न आफूले प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले आफू सम्वद्ध राजनीतिक दलसँग सम्बन्धित सबै प्रकारका राजनीतिक जिम्मेवारीहरू स्थगित गरेको पनि बताउनुभयो ।