संसदमा पहिलो पटक बोल्दै मन्त्री मनाङेले भनेः भाषण गर्ने मान्छे कोहीँ पाए भाडामा ल्याउथें

संसदमा पहिलो पटक बोल्दै मन्त्री मनाङेले भनेः भाषण गर्ने मान्छे कोहीँ पाए भाडामा ल्याउथें

  • Kanchan News

  • बिहिबार, असार ३०, २०७९

  • 110
    SHARES
संसदमा पहिलो पटक बोल्दै मन्त्री मनाङेले भनेः भाषण गर्ने मान्छे कोहीँ पाए भाडामा ल्याउथें

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) सांसद भएयता सदनमा बोलेका थिएनन् । बोल्दिनँ पनि भन्थे । तर बुधबार भने उनलाई नबोली धर भएन । आगामी वर्षको बजेटमाथि मन्त्रालयगत छलफलमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन उनी रोस्ट्रम उक्लनै पर्‍यो । बुधबार पनि उनले आफूलाई बौल्नै नपरे हुन्थ्यो भन्ने भावना अभिव्यक्त गरे ।

‘म भाषण दिएर हिँड्ने मान्छे हैन, मेरो सट्टामा भाडामा कसैले भाषण गरिदिए, त्यसैलाई ल्याउथें । त्यसलाई १०-२० हजार दिन्थें,’ उनले भने, ‘म जबरजस्ती आएर बोलिरहेको छु ।’ उनले संसदमा भन्दा बाहिरै सुझाव र प्रश्न गरिदिएको भए हुन्थ्यो भन्ने पनि बताए । ‘प्रश्नहरु सजिलो सजिलै छ, तर मलाई प्रश्न गर्नेभन्दा अर्थमन्त्री र मुख्यमन्त्रीलाई सोध्नुपर्ने हो,’ उनले भने ।

ब्राजिलमा भन्दा धेरै ग्राउन्ड हुँदा पनि नपुगेको गुनासो आइरहेको मन्त्री गुरुङले बताए । ‘अघि म ट्वाइलेट गएको त्यहाँ पनि चार जना आएर खेल मैदान हाल्देऊ भन्छ । मैले खनेर बनाउने हो र ? मलाई त इरिटेड पार्‍या छ, पदै दिइदिन पाए हुन्थ्यो जस्तो लागिसक्या छ,’ उनले भने । ७ महिनामा ५ वटा सचिव परिवर्तन भइसकेको जानकारी उनले दिए । उनले यस्तै हुने भने आफ्नो मन्त्रालय नराखे पनि हुने विचारसमेत व्यक्त गरे ।

मन्त्री गुरुङले आफ्नै जिल्लाका लागि अरु मन्त्रालयबाट बजेट कम परेको गुनासो गरे । ‘मैले पनि शिक्षा मन्त्रालयबाट २ शीर्षकमा २५ लाख पाएको छु । वन र कृषि मन्त्रालयबाट १ रुपैयाँ पनि पाएको छैन । उनीहरूसँग रिसाएर हुन्छ ?,’ उनले प्रश्न गरे । मनाङको प्राथमिकता पर्यटन भएको तर बजेट केवल ५ लाख पाएको उनले सुनाए ।

मन्त्री गुरुङले रातो किताब हेर्न सबै सांसदलाई आग्रह गरे । ‘रातो किताब पाउनुभएको छ । त्यहाँ हेर्नुस् न । सबैमा बजेट परेको छ,’ उनी भन्छन्, ‘दुई सय पाँच वटा ग्राउन्ड मैले गत वर्ष बनाएको छु । त्यो हेर्न सक्नुहुन्छ । कसैले पैसा लगेर बनाएको छैन भने, तपाईंहरू सांसद हो, समात्नुस् ।’ अहिले १ सय ५२ वटा बन्दै छन् ।’ गएको वर्ष स्कुलमा २६ वटा खेल मैदान बनाएको र अहिले ३८ वटा खेल मैदान बनाउने योजना रहेको पनि उनले सुनाए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News