
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको हो । अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरू उठेकोले राजीनामा दिनुपर्ने उहाँको भनाइ छ ।
सांसद थापाले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानविन गर्नुपर्ने बताउनुभयो । उहाँले यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने पनि स्पष्ट पार्नुभयो ।
‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनिसकेपछि तत्काल प्रधानमन्त्री एक्शनमा जानुपर्छ, यत्रो विषय संसद र संसदबाहिर उठ्यो,’ उहाँले भन्नुभयो, ‘विषय उठेपछि कि अर्थमन्त्रीजीले राजीनामा दिनुपर्छ कि प्रधानमन्त्रीजीले हटाउनुपर्छ र तत्काल छानविन गर्नुपर्छ ।’
महामन्त्री थापाले अर्थमन्त्रालयको सिसिटिभि फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताउनुभयो । उहाँले अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफुहरूले अनौपचारिक रूपमा भनिसकेको पनि जानकारी दिनुभयो ।