
हरिकृष्ण गौतम,बेनी
असार १४ २०७९, मंगलबार
पश्चिम म्याग्दीको ’लाइफलाइन’ मानिने बेनी–दरबाङ सडकअन्र्तगत लाम्पाटा–दरबाङ सडक खण्डको मंगला गाउँपालिका–२, नयाँबजारका स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका छन् ।
निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अलपत्र पारेर सम्पर्कविहीन भएपछि स्थानीयले आफ्नो खेतको रोपाई छोडेर हिलाम्मे सडकमा रोपाइँ गरेका हुन् । हिलाम्मे सडकको स्तरोन्नतिमा तीनै तहको सरकारको ध्यान नपुगेकाले व्यांग्यात्मकरुपमा सडकमै धान रोपेको स्थानीय यूवा श्रीराम पौडेलले बताए ।
बेनी–दरबाङ सडकखण्डमध्ये सबैभन्दा हिलाम्मे उक्त क्षेत्रलाई मानिन्छ । उक्त स्थानमा ढल निकासीमा समेत स्थानीय पीडित छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ८ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी तिनमहिनादेखि सम्पर्कविहीन अवस्थामा रहेको छ ।
२०७६ साल जेठ ३१ गते २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो ।