पोखरा महानगरपालिकाले पर्यटनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा सभागृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷०८० नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, स्वास्थ्य र पूर्वाधार, शिक्षा, समतामूलक समाजको विकास, सुशासन, वित्तीय पहुँच लगायतलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा रहेको बताउनुभयो ।
मेयर आचार्यले आगामी वर्ष सडकलाई पूर्ण रूपमा छाडा चौपायामुक्त बनाइने, सार्वजनिक पार्किङ स्थलको व्यवस्थापन, ट्राफिक व्यवस्थापन गर्नुका साथै ल्याण्डफिल्ड साइट, पोखरा सिटी र क्षेत्रीय तथा टुरिस्ट बसपार्कलाई व्यवस्थित बनाउने बताउनुभयो ।
महानगरपालिकामा पर्यटन प्रवर्धन गर्न लेक टु लेक, केभ टु केभ, र कोट टु कोट कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
कृषि क्षेत्रमा भएका समस्यालाई समाधान गरी कृषकलाई प्राविधिक कृषिमा प्रोत्साहन, पोखरामा उत्पादन हुने वस्तुलाई ब्रान्डिङ गरी पोखरेली ब्राण्डको स्थापना, बेरोजगारीको तथ्याङ्क सङ्कलन गरी रोजगारीको व्यवस्थापन, वैदेशिक रोजगारीमा जानेलाई तालिमको व्यवस्थापन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
३३ वटै वडामा एक उद्योग, एक सहकारीको व्यवस्थापन, खेल क्षेत्रको विकास, उत्कृष्ट खेलाडीलाई सम्मान, गुणस्तरीय र विशेषताकृत अस्पतालको निर्माण, कास्कीमा रहेका तालहरू सौन्दर्यीकरण, लेक टु लेक कनेक्टिभिटीको सम्भाव्यता अध्ययन, सार्वजनिक जग्गाको मापदण्ड तय गरिने मेयर आचार्यले नीति तथा कार्यक्रम सार्वजनिक गदै सो कुरा बताउनुभएको हो ।
नीति तथा कार्यक्रममा सार्वजनिक जमिनको तथ्याङ्क खोज्न, कर्मचारी तथा जनप्रतिनिधिहरूलाई क्षमता अभिवृद्धि गर्ने, गोठदेखि ओठसम्म, एक वडा एक संवैधानिक शौचालय निमार्ण र फोहोरलाई उद्यमशीलतासँग जोड्ने नीति तथा कार्यक्रममा समावेश गरिएको आचार्यले बताउनुभयो ।
लेक साइडसम्मको सडकको सौन्दर्यीकरणको विषय पनि कार्यक्रममा प्राथमिकताका साथ समेटिएको मेयर आचार्यले बताउनुभयो । उहाँले हिमा गृह आम नागरिक तथा पर्यटक लागि खुल्ला गर्न पहल गर्ने बताउनुभयो ।
स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार पोखराको बजेट १० गते पोखरा सभागृहमै प्रस्तुत हुँदैछ ।