गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट नीति तथा कार्यक्रम पास भएको हो । २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए ।त्यसपछि दफावार छलफल गरेर सोमबार पास गरिएको हो । योसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । १ असारमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले आगामी वर्षको लागि ३६ देखि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । यो बजेट नै बहालवाला सरकारको अन्तिम बजेट र नीति तथा कार्यक्रम हुनेछ । संघले मंसिर पहिलो साता आमनिर्वाचन गर्ने तयारी समेत गरेको छ । गण्डकीमा पहिले बनेको सरकार ढलेर अघिल्लो वर्षको २९ जेठमा गठबन्धनको नयाँ सरकार बनेको हो ।