
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदिप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे विभिन्न शंकाउपशंका उब्जिएको भन्दै संसदमा जानकारी गराउन माग गरेका हुन्।
सांसद ज्ञवालीले देउवा रक्षामन्त्री वा प्रधानमन्त्री कुन हैसियतमा अमेरिका जान लागेको हो त्यसबारे स्पष्ट हुनुपर्ने जिकिर गरे । दुई दिनअघि सदनमा सत्ता घटक एक दलका प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भनाइ राख्नु सामान्य नभएको भन्दै उनले प्रधानमन्त्रीको आसन्न भ्रमणले आशंका उत्पन्न भएको बताए। ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको ? ,’ रक्षामन्त्रीको हैसियतले हुँदैछ भने यसको ‘स्ट्याचर’ के हो ? ,उनले भने,’ यसबारे यथासक्य सदनलाई जानकारी हुनु जरुरी छ।’ उनले प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापन परराष्ट्र सम्बन्धसँग नभएर रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएको भन्दै आपत्ती जनाए। उनले यस्ता महत्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग छलफलसमेत नगरेको बताए। कुनैपनि बहानामा नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन नहुनेमा उनको जोड छ।